अब पैसा नहुँदा उपचार रोकिन्न ःजीतपुरसिमरामा बिशेषज्ञ सेवा सहित ४४ स्वास्थ्यकर्मी माग

रञ्जन यादब /बारा २३ बैशाख

जीतपुरसिमरा उपमहानगरपालिकाले नगर अस्पताललाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउने लक्ष्यसहित एकैपटक ४४ जना स्वास्थ्यकर्मी माग गर्दै सेवा करारमा दरखास्त आह्वान गरेको छ । १७ वटा विभिन्न पदमा जनशक्ति पूर्ति गर्न उपमहानगरले आवेदन खुला गरेको हो ।नगर प्रमुख राजन पौडेलले अब नगरबासीले विशेषज्ञ डाक्टरको उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता अन्त्य गर्ने स्पष्ट बताएका छन् । “हामीले नगर अस्पताललाई यस्तो बनाउँदैछौँ जहाँ सामान्यदेखि जटिल रोगसम्मका विशेषज्ञ सेवा उपलब्ध हुन्छ,” उनले भने, “पैसाको अभावमा उपचार नपाएर कसैले ज्यान गुमाउनुपर्ने अवस्था अब सह्य हुँदैन ।”
उपमहानगरका अनुसार कन्सल्टेन्ट जनरल फिजिसियन, जनरल सर्जन, गाइनोकोलोजिस्ट, रेडियोलोजिस्ट, पेडियाट्रिसियन लगायत विशेषज्ञ चिकित्सकदेखि लिएर मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब टेक्निसियन, रेडियोग्राफर, फार्मेसी सहायक, एनेस्थेसिया सहायकसम्मका पदमा कर्मचारी माग गरिएको छ । यसबाट नगर अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ ।
नगर प्रमुख पौडेलले विशेष गरी आर्थिक रूपमा कमजोर नागरिकलाई लक्षित गर्दै उपचार सेवा सहज र पहुँचयोग्य बनाउने नीति लिइएको बताए । “धेरै नागरिक पैसाको अभावमा समयमै उपचार गर्न नसक्ने अवस्थाबाट गुज्रिरहेका छन्,” उनले भने, “नगर अस्पताल त्यस्ता बिरामीका लागि आशाको केन्द्र बन्नेछ ।”
दरखास्त दिन चाहनेले जेठ ११ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा छुटेकाले जेठ १८ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
उपमहानगरको यो पहललाई स्थानीयले स्वास्थ्य क्षेत्रमा ठूलो राहतका रूपमा हेरेका छन् । अब नगरमै विशेषज्ञ सेवा उपलब्ध हुने भएपछि बिरामी र उनका परिवारले आर्थिक र मानसिक दुवै बोझ कम हुने अपेक्षा गरिएको छ ।