सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था सुधार गर्ने उद्देश्यले सिमरामा अन्तरक्रिया

रञ्जन यादब /बारा

बाराको जीतपुरसिमरा उपमहानगरपालिका मा सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था सुधार गर्ने उद्देश्यले सिमरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सिमरा कलेज को सभा हलमा आयोजित उक्त कार्यक्रममा उपमहानगरभित्र रहेका सामुदायिक विद्यालयहरूको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे गहन छलफल गरिएको थियो।कार्यक्रममा विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधि तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले विद्यालयमा विद्यार्थी संख्या घट्दै जानु, शैक्षिक गुणस्तर सुधारको आवश्यकता, शिक्षक व्यवस्थापन, पूर्वाधार अभाव तथा प्रविधिमैत्री शिक्षाको अभाव जस्ता समस्याहरू औंल्याएका थिए।

अन्तरक्रियामा अभिषेक घिमिरे ले राष्ट्रिय बृहत शिक्षा अभियान अन्तर्गत शिक्षा क्षेत्रमा गर्नुपर्ने सुधारका उपायहरू प्रस्तुत गर्दै कमजोर अवस्थामा पुगेका विद्यालयहरूलाई सक्षम नेतृत्व, दीर्घकालीन योजना र सामूहिक प्रयासबाट उत्कृष्ट विद्यालयमा रूपान्तरण गर्न सकिने उदाहरणहरू प्रस्तुत गरेका थिए। उहाँले विद्यालय सुधारका लागि समुदाय, शिक्षक र स्थानीय सरकारबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो।त्यसैगरी नगर प्रमुख राजन पौडेल ले शिक्षा क्षेत्रको विकासका लागि एकल प्रयास पर्याप्त नहुने उल्लेख गर्दै सबै सरोकारवालाहरूको सक्रिय सहभागिता र जिम्मेवारी आवश्यक रहेको बताउँनुभयो। उहाँले उपमहानगरपालिकाले आगामी दिनमा सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारका लागि नीति, कार्यक्रम तथा बजेटलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागीहरूले सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढाउन गुणस्तरीय शिक्षण, दक्ष शिक्षक व्यवस्थापन, नियमित अनुगमन तथा प्रविधिको प्रभावकारी प्रयोग आवश्यक रहेको निष्कर्ष निकालेका थिए। साथै, विद्यालय सुधारका लागि स्पष्ट कार्ययोजना बनाएर कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइएको थियो। अन्तरक्रिया कार्यक्रमले शिक्षा क्षेत्रका समस्या पहिचान गर्दै समाधानका सम्भावित उपायहरू खोज्ने महत्वपूर्ण प्लेटफर्मको रूपमा काम गरेको सहभागीहरूको भनाइ रहेको थियो।