रञ्जन यादब /बारा
आगलागी नियन्त्रण तालिम तथा एल.पि. ग्यास सुरक्षा सम्बन्धी एक दिने जनचेतनामूलक कार्यक्रम जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवामा सम्पन्न भएको छ ।
पिलुवास्थित ग्यास वान नेपाल प्रा.लि.को आयोजनामा उद्योग परिसरमै सञ्चालन गरिएको कार्यक्रममा काठमाडौं, चाबहिलस्थित स्टार सेफ्टी सर्भिस प्रा.लि.ले प्राविधिक सहयोग प्रदान गरेको थियो। कार्यक्रममा ग्यास प्रयोगका क्रममा अपनाउनुपर्ने सावधानी, ग्यास सिलिन्डरको संरचना तथा सुरक्षित प्रयोगका विधिबारे विस्तृत जानकारी दिइएको थियो।

विशेषगरी, ग्यास चुहावट वा ग्यास पाइपमा आगलागी भएको अवस्थामा तत्काल के गर्ने, के नगर्ने, आगो कसरी नियन्त्रण गर्ने भन्ने विषयमा व्यवहारिक डेमो प्रस्तुत गरिएको थियो। सहभागीहरूलाई आपतकालीन अवस्थामा आत्मरक्षा तथा क्षति न्यूनीकरणका उपायबारे समेत प्रशिक्षित गरिएको थियो।
कार्यक्रममा वडा नं.१६ का वडा अध्यक्ष हरिदेव खरेलले उद्योगको यस किसिमको जनचेतनामूलक कार्यक्रमले उद्योग, घरपरिवार तथा समुदायमा हुने सम्भावित दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। साथै, ग्यासको सुरक्षित प्रयोगबारे सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरे ।

सहभागीहरूले तालिम अत्यन्त उपयोगी र व्यवहारिक रहेको प्रतिक्रिया दिएका थिए। उद्योगले लक्की ड्र गराई कार्यक्रममा सहभागि ६ जनालाई ग्यास सिलिन्डर सहितको ग्यास बितरण गरेको थियो ।

ग्यास वान नेपाल प्रा.लि.का प्रबन्ध निर्देशक हिडेकि फुकुईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रतिनिधि, स्थानीय विद्यार्थी, उपभोक्ता तथा उद्योगका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

स्वागत मन्तब्य ग्यास वान नेपालका कर्मचारी राजकुमार गुरुङ्गले ब्यक्त गरेको कार्यक्रममा शिक्षाबिद राधेश्याम शिवाकोटी ,४० नम्बर गणका सशस्त्र प्रहरी निरिक्षक कृष्ण पौडेल ,युवा ब्यवशायी रुपेश न्यौपाने लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।कार्यक्रमको सञ्चालन उद्योगका प्रबन्धक सरोजराज ढकालले गरेका थिए।


