रञ्जन यादव /बारा
हाल विश्वमा उत्पन्न युद्धको अवस्थाका कारण बजारमा विभिन्न वस्तुहरूको आपूर्ति र मूल्यबारे अनेक अफवाह फैलिएको भन्दै जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले व्यापारीहरूलाई कृत्रिम मूल्यवृद्धि नगर्न आग्रह गरेको छ।संघका महासचिव प्रकाश गिरीले बिहिबार एक सूचना जारी गर्दै ग्यास, तेल तथा अन्य अत्यावश्यक वस्तुहरूको मूल्य मनपरी रूपमा बढाएर उपभोक्तासँग ठगी नगर्न व्यवसायी तथा पसलधनीहरूलाई सचेत गराएको हुन् ।
संघका अनुसार सरकारले तोकेको मूल्यभन्दा बढी मूल्य लिनु, कृत्रिम अभाव सिर्जना गर्नु वा अनावश्यक रूपमा मूल्य वृद्धि गर्नु कानुनविपरीत कार्य हो। यस्तो गतिविधि गरेको पाइएमा सम्बन्धित व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि संघले दिएको छ।
त्यसैले सबै व्यवसायी तथा पसलधनीहरूले नियमित मूल्य सूचीअनुसार मात्र वस्तु बिक्री–वितरण गर्न र उपभोक्तालाई सहज, निष्पक्ष सेवा प्रदान गर्न संघले अनुरोध गरेको छ।संघका महासचिव गिरी द्वारा हस्ताक्षरित सूचनामा सबैको सहयोगबाट मात्र बजार व्यवस्थापन र उपभोक्ताको हित संरक्षण गर्न सकिने उल्लेख गरिएको छ।
