एमाले नेतृत्वको सरकारकै कारण जेनजी आन्दोलन भयो, ती पार्टीकाे भाेट माग्न आउँनेलाई लखेटाैं : भरत साह

नेपाली कम्युनिष्ट पार्टीबाट बारा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा उम्मेद्वार बनेका भरत साहले जेनजी आन्दोलनको पृष्ठभूमि तत्कालीन एमाले नेतृत्वको सरकारका कारण सिर्जना भएको दाबी गरेका छन् । उनले त्यही सरकारका तर्फबाट मत माग्न आउने प्रतिनिधिलाई जनताले अस्वीकार गर्दै लखेटेर पठाउनुपर्ने अभिव्यक्ति दिएका छन् ।

बारा क्षेत्र नं. ३ को क्षेत्रीय भेला जीतपुरसिमरा उपमहानगरपालिका–१८ बडहर्वामा सम्बोधन गर्दै साहले जेनजी आन्दोलन कुनै आकस्मिक घटना नभई सरकारको गलत नीति, दमनकारी सोच र जनविरोधी निर्णयको परिणाम भएको बताए । उनका अनुसार भ्रष्टाचार, जनताको चाहनाअनुसार काम गर्न नसक्नु तथा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धले जनताको सहनशीलताको सीमा नाघेको थियो, जसका कारण युवाहरू आन्दोलनमा उत्रन बाध्य भए ।

उनले त्यसबेला सरकारमा सहभागी रहेको नेपाली कांग्रेसले पनि जनताको पक्षमा स्पष्ट र जिम्मेवार भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरे । जनताको आवाज सुन्ने सट्टा सत्ता स्वार्थमा केन्द्रित दलहरूलाई अब बाइपास गर्दै अघि बढ्नुपर्ने समय आएको उनको भनाइ थियो ।

भरत साहले जेनजी आन्दोलनका क्रममा शान्तिपूर्ण रूपमा सडकमा उत्रिएका आन्दोलनकारीमाथि भएको दमनलाई गम्भीर रूपमा उठाउँदै, आन्दोलनमा सहभागी अबोध बालबालिकामाथि समेत गोली चलाइएको घटनालाई राज्यको चरम असंवेदनशीलता भएको बताए । यस्ता घटनाको सम्पूर्ण नैतिक र राजनीतिक जिम्मेवारी तत्कालीन सरकारकै भएको उनले जिकिर गरे ।


कार्यक्रममा साहले आगामी निर्वाचनलाई जनविरोधी शासन, भ्रष्टाचार र दमनको विरुद्ध जनताले दिने ऐतिहासिक अवसरका रूपमा चित्रण गरे । उनले युवाको नेतृत्व, पारदर्शी शासन र जनउत्तरदायी राजनीतिमार्फत मात्रै देशको वास्तविक परिवर्तन सम्भव हुने भन्दै जनतालाई सचेत र निर्णायक भूमिका निर्वाह गर्न आग्रह गरे । क्षेत्रीय भेलामा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।