जीतपुरसिमरा उपमहानगरपालिकामा निःशुल्क रेबिज खोप शिविर सञ्चालन हुने

रञ्जन यादब/बारा

रेबिज रोगको नियन्त्रण तथा न्यूनीकरण गर्ने उद्देश्यले जीतपुरसिमरा उपमहानगरपालिकाले निःशुल्क रेबिज खोप शिविर सञ्चालन गर्ने भएको छ । उपमहानगरपालिकाको पशुपन्छी विकास शाखाको आयोजनामा जिल्ला बारा भित्रका विभिन्न वडामा चरणबद्ध रूपमा उक्त शिविर सञ्चालन हुने जनाएको छ ।

पशुपन्छी विकास शाखाका अनुसार उपमहानगर क्षेत्रभित्र रहेका घरपालुवा कुकुर तथा बिरालालाई निःशुल्क रेबिज विरुद्धको खोप प्रदान गरिने शाखा प्रमुख डा.सुबाश झाले जानकारी दिए । रेबिज जस्तो घातक रोगबाट मानव तथा पशु दुवैको स्वास्थ्य सुरक्षाका लागि यो अभियान महत्वपूर्ण हुने शाखाको भनाइ छ ।कार्यतालिका अनुसार वडा नं. १ पथलैयामा माघ १२ गते खोप शिविर सञ्चालन हुनेछ । त्यसैगरी वडा नं. २१ र २२ मा १३ गते, वडा नं. १६ मा १९ गते, वडा नं. १७ मा १५ गते, वडा नं. १५ मा २१ गते, वडा नं. १९ र २० मा २० गते, वडा नं. १८ मा १४ गते, वडा नं. १४ मा २२ गते तथा वडा नं. ४ मा २३ गते निःशुल्क रेबिज खोप शिविर सञ्चालन गरिने जारी सुचनामा जनाईएको छ । अधिकांश वडामा शिविर वडा कार्यालय परिसरमै सञ्चालन हुने जनाइएको छ ।

शाखाले सम्बन्धित सबै वडा बासिन्दालाई आफ्ना घरपालुवा कुकुर तथा बिरालालाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा ल्याई खोप लगाउन आग्रह गरेको छ । यस अभियानले रेबिज रोगको जोखिम घटाउनुका साथै जनस्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।