बिदुर खड्का/ डुमरबाना
बाराको चरौतामा “कुष्टरोगको छ औषधि, सामाजिक लान्छना र विभेद मुख्य चुनौती” भन्ने नाराका साथ विश्व कुष्टरोग दिवस मनाइएको छ । लेप्रोसी मिसन नेपालको आयोजना तथा पचरौता नगरपालिका जनस्वास्थ्य कार्यालय, बाराको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा लेप्रोसी मिसनका स्वयं सहायता समूह, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो । कुष्टरोगसम्बन्धी जनचेतना अभिवृद्धि, समयमै औषधि सेवन तथा विभेद न्यूनीकरणमा केन्द्रित रही कार्यक्रम आयोजना गरिएको लेप्रोसी मिसन नेपालका जिल्ला को–अर्डिनेटर रामहरि रेग्मीले जानकारी दिनुभयो ।

रेग्मीका अनुसार हाल बारामा ९३ जनाले १२ महिने औषधि सेवन पूरा गरेका छन् भने १९ जनाले ६ महिने औषधि सेवन गरिरहेका छन् । बारालाई कुष्टरोगको हटस्पोट–१ क्षेत्रका रूपमा पहिचान गरिएको छ भने जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्र हटस्पोट–२ मा रहेको जनस्वास्थ्य कार्यालय, बाराले जनाएको छ ।
यसै अवसरमा पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिकामा पनि विश्व कुष्टरोग दिवस मनाइएको छ । दिवसको अवसरमा पर्सामा स्वयं सहायता समूहले लेप्रोसी भवन निर्माणका लागि ७ धुर जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।
पर्सा जिल्लामा हाल २४ जना कुष्टरोगीले औषधि सेवन गरिरहेका छन् भन्ने जानकारी स्वास्थ्य कार्यालय, पर्साले दिएको छ । कार्यक्रमहरूमा कुष्टरोग पूर्ण रूपमा निको हुने रोग भएको, नियमित औषधि सेवनको महत्व तथा सामाजिक विभेद अन्त्य गर्नुपर्ने विषयमा व्यापक जानकारी गराइएको रेग्मीले बताउनुभयो ।
कार्यक्रमका सहभागीहरूले कुष्टरोगप्रति रहेको सामाजिक लान्छना र विभेद अन्त्य नगरेसम्म रोग उन्मूलन चुनौतीपूर्ण रहने भन्दै सबै तहबाट सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।

