जीतपुरसिमराले अपाङ्गता भएका १७ जनालाई विभिन्न सहायक सामग्री वितरण

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा १७ जनालाई विभिन्न सहायक सामग्री वितरण गरेको छ। विशेष समारोहमार्फत आयोजित कार्यक्रममा “अपाङ्गता समावेशी समाजको प्रवद्र्धन ः सामाजिक उन्नतिको संवद्र्धन” भन्ने नारा अघि सारिएको थियो।उपमहानगरपालिकाले दुईवटा बैशाखी, दुईवटा ट्राइसाइकल र १३ वटा ह्विलचेयर उपलब्ध गराएको महिला ,अपाङ्गता तथा जेष्ठ नागरिक शाखा अधिकृत सिमा यादबले जानकारी दिईन् ।

सामग्री प्राप्त गरेका व्यक्तिहरूले दैनिक जीवनयापन सहज बनाउन ठूलो सहायताको महसुस गरेको बताएका छन्। वडा वडाबाट माग आए अनुसारको साहयक सामग्री खरिद गरिएको बताईएको छ ।अरु साहयक सामग्री उपस्थित नभएका अपाङ्गता भएका ब्यक्तिहरुलाई उहाँहरु भएको स्थलमा वा पछि आएको समयमा उपलब्ध गराउँने जीतपुरसिमरा उपमहानगरपालिकाको योजना रहेको छ ।

कार्यक्रममा नगर प्रमुख राजन पौडेल ,उप प्रमुख भोला अधिकारी ,प्रमुख प्रशासकिय अधिकृत शान्तिराज प्रसाँई ,ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख राजेन्द्र कडेँल ,जिल्ला अपाङ्ग सेवा संघ बाराका अध्यक्ष गंगा प्रसाद वाग्ले,ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक वेद प्रकाश जोशि लगायतको सहभागिता रहेको थियो । स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजको मुख्यधारमा समावेश गर्न यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने उल्लेख गरिरहेका थिए।सहायक सामग्री वितरण कार्यक्रमले उपमहानगरपालिकाले अपाङ्गता अधिकार र सामाजिक समावेशीतातर्फ गरेको प्रयासलाई अझ बृद्धि दिएको बताइएको छ।