मधेश प्रदेशमा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोकियो

रञ्जन यादब /बारा

मधेश प्रदेशमा रहेका नेकपा माओवादी केन्द्रका केन्द्रीय समिति सदस्य, वैकल्पिक केन्द्रीय समितिका सदस्यहरुलाई जिम्मेवारी तोकिएको छ । मधेश प्रदेशका आँठवटै जिल्लामा छुटाछुट्टै जिल्ला इन्चार्ज तोकिएको छ ।

माओवादी केन्द्रले बारा जिल्लाको ईन्चार्जको जिम्मेवारी क्षेत्र बहादुर श्रेष्ठ(अनिल) लाई दिएको छ । त्यस्तै पर्सा जिल्ला इन्चार्जको जिम्मा विजय महतोलाई ,रौतहट जिल्लाको जिम्मेवारी सुरेन्द्र कुमार जैसवाल (अशोक), सर्लाही जिल्लाको जिम्मेवारी अच्युतम प्रसाद काफ्ले, महोत्तरी जिल्लाको जिम्मेवारी राजु खड्कालाई इन्चार्ज तोकिएको छ ।माओवादी केन्द्रले गरेको परिपत्रमा जोग कुमार बरबरिया यादव धनुषा, अजय शंकर नायक सिरहा र सूर्यनाथ यादवलाई सप्तरी जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ ।

माओवादी केन्द्रले जीतपुरसिमरा नगर कमिटीको ईन्चार्जको जिम्मेवारी बैकल्पिक केन्द्रिय सदस्य राजन पौडेललाई दिइको छ ।माओवादीले जारी गरेको परिपत्रमा मधेश प्रदेश सरकार, प्रदेश सभा र निर्वाचित जनप्रतिनिधिहरुको कार्यक्षेत्र सोही अनुसार रहने जनाइएको छ ।सरकार र सदनका कार्य तथा प्रतिनिधित्व गरेको क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न माओवादी केन्द्रले परिपत्रमार्फत जनाएको छ ।

नेकपा माओवादी केन्द्रले प्रदेश सम्मेलन सम्पन्न गर्नका लागि प्रदेश इन्चार्ज लिलामणि पोख्रेलको संयोजनमा मधेश प्रदेश सम्मेलन आयोजक समितिसमेत गठन गरेको छ ।प्रदेश सम्मेलन आयोजक समितिको सह इन्चार्जमा विश्वनाथ साह र कार्यालय सदस्यहरुमा प्रल्हाद कुमार बुढाथोकी, महेन्द्र पासवान र जोगकुरमा बरबरियालाई चयन गरिएको छ ।

यही भदौं महिनाभित्र प्रदेश सम्मेलन सम्पन्न गरी प्रदेश समिति निर्माण गर्न माओवादी केन्द्रले समितिलाई निर्देशन समेत दिएको छ । साथै जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत सञ्चालित बाँकी कार्यहरु अविलम्ब पूरा गर्न माओवादी केन्द्रले निर्देशनसमेत दिएको छ । नेकपा माओवादी केन्द्रले मधेश प्रदेशमा पाँच महिनाभित्र अनिवार्यरुपमा प्रदेश सम्मेलन गर्न परिपत्र गरेको छ । मधेश प्रदेशमा पार्टीको काम व्यवस्थित बनाउँन आगामी भदौंभित्र प्रदेश सम्मेलन सम्पन्न गर्ने परिपत्र गरेको छ ।