रञ्जन यादब /बारा १४ कार्तिक
जीतपुरसिमरा उपमहानगरपालिका–औराहास्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभामा संस्थाको आर्थिक अवस्था, कारोबार, ऋण लगानी तथा शेयर सदस्यको हितका विषयमा छलफल गरिएको छ।देवाश्रममा आयोजित साधारण सभा संस्थाकी अध्यक्ष कोपिला सिमखडाको अध्यक्षता तथा ज्येष्ठ शेयर सदस्य बामबहादुर शिलवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।सभामा प्रस्तुत सञ्चालक समितिको प्रतिवेदनअनुसार सहकारीमा हाल १ हजार ६ सय २९ जना शेयर सदस्य, ८६ वटा लघुवित्त समूह र २ सय ३५ जना बाल बचतकर्ता आबद्ध छन्। संस्थाको शेयर पुँजी २ करोड ३ लाख ८६ हजार ३ सय रुपैयाँ पुगेको छ भने चालु वर्षमा १९ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कार्यक्रमका प्रमुख वक्ता मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्माले छोटो अवधिमै सहकारीले सदस्यहरूको विश्वास आर्जन गर्न सफल भएको बताए। अन्य सहकारी संस्थाले शेयर सदस्यलाई लाभांश वितरण गरिरहेको अवस्थामा घण्टीमाईका सदस्यले लाभांश पाउन नसक्नुको कारणबारे उनले जिज्ञासा राखे। संस्थालाई आर्थिक रूपमा मजबुत बनाउन ऋण लिएका सदस्यहरूले समयमै कर्जा फिर्ता गर्नुपर्नेमा उनले जोड दिए।संस्थाका व्यवस्थापक नवीन खड्काले पछिल्लो दुई वर्षदेखि केही ऋणीले कर्जा नवीकरण नगरेको र समयमै ऋण चुक्ता नगर्दा लाभांश वितरणमा समस्या भएको जानकारी दिए। उनका अनुसार संस्थाले यस वर्ष २५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। तर, ऋण असुलीमा देखिएको समस्याका कारण शेयर सदस्यलाई लाभांश उपलब्ध गराउन नसकिएको हो। उनले ऋण लगानी प्रक्रियालाई सहज बनाइएको र कर्जा लिएर चुक्ता नगर्ने सदस्यलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएको पनि बताए।

साधारण सभाको अवसरमा संस्थाले विभिन्न विधामा उत्कृष्ट योगदान पु¥याउने शेयर सदस्य, कर्मचारी तथा व्यक्तित्वहरूलाई सम्मान गरेको छ। महिला ज्येष्ठ शेयर सदस्य लिलादेवी र पुरुष ज्येष्ठ शेयर सदस्य बामबहादुर शिलवाल सम्मानित भएका छन्।त्यसैगरी, कार्यपालिका सदस्य अर्जुन रसाइली, उत्कृष्ट समूहका रूपमा समूह नम्बर १५, उत्कृष्ट दैनिक बचतकर्ताका रूपमा सुभद्रा घिमिरे, उत्कृष्ट बाल बचतकर्ताका रूपमा अनमोल गिरी तथा उत्कृष्ट ऋणीका रूपमा पवित्रा कुमारी खनाललाई सम्मान गरिएको छ।पत्रकारितामार्फत योगदान पु¥याएको भन्दै घण्टीमाई पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकार एसएस पटेललाई सम्मान गरिएको छ। यस्तै, उत्कृष्ट कर्मचारीका रूपमा सुदीप चौधरी र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने अनिता रुम्बालाई पनि पुरस्कृत गरिएको छ।

कार्यक्रममा अध्यक्ष कोपिला सिमखडाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने लेखा सुपरीवेक्षण समितिका संयोजक नवराज न्यौपानेले लेखा सुपरीवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए।
साधारण सभामा संस्थाका उपाध्यक्ष भुवप्रसाद ढकाल, सचिव त्रिलोक साह ठकुरी, कोषाध्यक्ष प्रेमकुमारी ढकाल, सहसचिव सुकदेव सिमखडालगायत शेयर सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक नवीन खड्काले गरेका थिए।




