जीतपुरसिमरा–१४ का ५७९ जनाको लालपुर्जा प्रक्रिया अघि बढ्यो

 बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ का ५ सय ७९ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गर्ने प्रक्रिया अघि बढेको छ । आवश्यक कागजातसहित उनीहरूको फाइल बिहीबार नापी तथा मालपोत कार्यालय कलैयामा बुझाइएको हो ।

वडाध्यक्ष चयन गुरुङको नेतृत्वमा उपमहानगरपालिकाको भूमि व्यवस्था तथा सहकारी शाखा प्रमुख सुदन चौधरी र राजस्व शाखा प्रमुख राम शर्मा पौडेलसहितको टोलीले सम्बन्धित कार्यालयका कर्मचारी मनोहर मिश्रालाई फाइल हस्तान्तरण गरेको हो ।

उपमहानगरपालिकाको ७१औँ कार्यपालिका बैठकको निर्णयअनुसार वडा नम्बर १४ का १४ जना भूमिहीन दलित, १ सय ३६ जना भूमिहीन सुकुम्बासी र ४ सय २९ जना अव्यवस्थित बसोबासीको फाइल बुझाइएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार तीनवटै समूहका गरी कुल ५ सय ७९ जनाको फाइल आवश्यक प्रक्रियाका लागि सम्बन्धित निकायमा पठाइएको हो ।

यसअघि उपमहानगरपालिकाका वडा नम्बर १, २, १८ र २१ का लाभग्राहीको फाइलसमेत बुझाइसकिएको छ । वडा नम्बर १४ को फाइल हस्तान्तरणसँगै हालसम्म पाँचवटा वडाका भूमिहीन तथा अव्यवस्थित बसोबासीको लालपुर्जा प्राप्त गर्ने प्रक्रिया अघि बढेको छ ।

वर्षौंदेखि बसोबास गर्दै आए पनि जग्गाको कानुनी स्वामित्व प्राप्त गर्न नसक्दा स्थानीयले विभिन्न समस्या भोग्दै आएका छन् । जग्गाको स्वामित्व सुनिश्चित गर्न लालपुर्जा उपलब्ध गराउनुपर्ने माग गर्दै आएका उनीहरूका लागि फाइल हस्तान्तरणले आशा जगाएको छ ।

वडाध्यक्ष गुरुङले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको बताउनुभयो । उहाँले आवश्यक प्रक्रिया छिटो पूरा गरी लाभग्राहीले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्ने वातावरण बनाउन पहल भइरहेको जानकारी दिनुभयो ।

स्थानीयवासीले भने वर्षौंदेखिको जग्गासम्बन्धी समस्या समाधान गर्न प्रशासनिक तथा कानुनी प्रक्रिया छिटो टुंग्याएर लालपुर्जा वितरण सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।