नेपाली कांग्रेस देउवा पक्षको जिल्ला अधिवेशन सफल पार्न जीतपुरसिमरा नगर कमिटीको बैठक

बारा । कार्तिक १५ गते आयोजना हुन लागेको नेपाली कांग्रेसको देउवा पक्षको जिल्ला अधिवेशनलाई सफल बनाउन जीतपुरसिमरा नगर कमिटीले जीतपुरमा बैठक सम्पन्न गरेको छ।

नगर कमिटीका सभापति निरजकुमार गिरीको अध्यक्षतामा बसेको बैठकमा जिल्ला अधिवेशनलाई व्यवस्थित र सफल बनाउन आवश्यक तयारी तथा व्यवस्थापनका विषयमा छलफल गरिएको छ। बैठकमा अधिवेशनमा नगर कमिटीको भूमिका, नेता तथा कार्यकर्ताको सहभागिता, प्रतिनिधिहरूको समन्वय र अधिवेशनलाई मर्यादित रूपमा सम्पन्न गर्ने विषयमा समेत छलफल भएको सभापति गिरीले जानकारी दिए।

बैठकमा नेपाली कांग्रेस देउवा पक्षअन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिकाका २४ वटै वडाका सभापति तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। उनीहरूले जिल्ला अधिवेशनमा सक्रिय सहभागिता जनाउँदै अधिवेशनलाई सफल बनाउन आ–आफ्नो तहबाट भूमिका निर्वाह गर्ने विषयमा छलफल गरेका थिए।

त्यसैगरी बैठकमा नेपाली कांग्रेसका जिल्ला वरिष्ठ नेता सुनिलकुमार गुप्ता, क्षेत्र नम्बर ४ (ख) का सभापति लेखनाथ खनाल, महाधिवेशन प्रतिनिधि राधा साहलगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

बैठकमा सहभागी नेताहरूले जिल्ला अधिवेशनलाई व्यवस्थित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न आपसी समन्वय, सहकार्य र एकतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। साथै अधिवेशनमा वडा तहदेखि नै नेता तथा कार्यकर्ताको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने विषयमा समेत धारणा राखेका थिए।