बाराको कोल्हवीबाट सालको गोलिया काठ र चार थान साइकल बरामद

रञ्जन यादब /बारा १२ कार्तिक

बाराको कोल्हवी नगरपालिकास्थित बालुवा गाउँको उत्तरी क्षेत्रमा वन कर्मचारीले चार थान सालको गोलिया काठ र चार थान साइकल बरामद गरेका छन्।मधुवन सबडिभिजन वन कार्यालय, नयाँबस्तीबाट खटिएको वन कर्मचारीको टोलीले राति करिब २ बजे एम्बुस थापेर निगरानी गर्ने क्रममा जंगलबाट सालको गोलिया काठ तस्करी भइरहेको अवस्थामा उक्त सामग्री बरामद गरेको डिभिजनल बन अधिकृत सुजित कुमार झाले जानकारी दिए ।
वन कर्मचारीलाई देखेपछि काठ तस्करीमा संलग्न व्यक्तिहरू काठ छाडेर फरार भएका थिए। उनीहरूलाई नियन्त्रणमा लिन खोजिए पनि अँध्यारोको फाइदा उठाउँदै भाग्न सफल भएको जनाइएको छ।

वन कर्मचारीले घटनास्थलबाट चार थान सालको गोलिया काठ र चार थान साइकल बरामद गरेको मधुवन सबडिभिजन वन कार्यालयका रेञ्जर उदय पुडासैनीले जानकारी दिए । बरामद काठ २१.४१ क्युफिटको रहेको उनले बताए ।घटनाबारे थप अनुसन्धान तथा काठ तस्करीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको डिभिजन बन कार्यालय बाराले जनाएको छ ।