जीतपुरसिमरा अस्पतालमा सेवा, सुविधा थप भएपछि बिरामीको चाप बढ्यो

रञ्जन यादब /बारा

जीतपुरसिमरा अस्पतालमा सेवा, सुविधा थप भएपछि बिरामीको चाप ह्वात्तै बढेको छ । दैनिक २ सय देखि २५० जना बिरामीले अस्पतालबाट सेवा लिइरहेका छन् भने दैनिक ५० देखि ६० जनाले ल्याबको सुविधा लिइरहेको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो समय अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, गर्भवती परीक्षण, गर्भवती महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा, बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म ल्याब परीक्षण र बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म ओ.पी.डी. सेवा सञ्चालन गर्दै आएको छ ।

विगतमा खकार, रगत, सुगर, थाईराइड, मुटु, मिर्गौला परीक्षण गर्न वीरगन्ज, हेटौँडा काठमाडौँ जाने बिरामीहरूले अहिले जीतपुर सिमरा अस्पतालबाटै सेवा पाउन थालेका छन् । मुटुको समस्या भएका बिरामीहरूलाई हृदयाघात भए÷नभएको परीक्षण समेत जीतपुर सिमरा अस्पतालबाटै पाउने अस्पतालका प्रमुख डा. प्रकाश साहले जनाएका छन् । जीतपुर सिमरा अस्पतालबाट उपमहानगरका २४ वटै वडाका स्थानीय बाहेक बाराका अन्य पालिका र रौतहटसम्मका बिरामीले सेवा लिइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

४ जना डाक्टरसहित ३२ जना स्वास्थ्यकर्मीको टोलीले अहिले अस्पतालमा सेवा दिइरहेका छन् । अस्पतालले चालु आर्थिक वर्षको साउनदेखि फार्मेसी सञ्चालन गरेको छ, जसमा नेपाल सरकारले प्रदान गर्ने ९८ प्रकारका औषधिहरू निःशुल्क पाइन्छ भने अन्य बजारमा पाइने महँगो औषधीमा न्युनतम् शुल्कमा पाइने अस्पताल प्रशासनले जनाएको छ ।

जीतपुर सिमरा उपमहानगरले शिक्षा र स्वास्थ्यमा सुधार गर्ने नीति अनुसार प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर अस्पतालको रूपमा सञ्चालन गरेका हो । अस्पताललाई चुस्त दुरुस्त सञ्चालन गर्न अझै धेरै व्यवस्थापनको काम गर्न बाँकी रहेको डा.साहले जनाएका छन् । अस्पतालका ल्याब टेक्निसियन रमनकुमार उपाध्यायले ल्याब परीक्षणका लागि २ महिनाअघि नयाँ मेसिनहरू सञ्चालनमा ल्याएको बताएका छन् ।