रौतहटमा आगलागी हुँदा ५ घर जलेर नष्ठ

रौतहट, चैत्र २५ गते ।

रौतहटमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । जिल्लाको राजपुर नगरपालिका वडा नम्बर ९ बैरिया गाउँमा ५ वटा घरमा आगलागी हुँदा लाखौँको क्षति भएको हो ।

स्थानीय रुपनरायन साह कानुको घरदेखि शुक्रवार अपराह्न सुरु भएको आगलागीबाट राजेन्द्र साह कानु, गणेश साह कानु, उधो साह कानु, महेन्द्र साह कानुको घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी हुँदा गौरबाट दमकल आउँदा ढिलो भएकाले समयमा नियन्त्रण हुन नसक्दा पूर्ण क्षति भएको थियो । रौतहटको सदरमुकाम गौर र चन्द्रपुर नगरपालिकामा मात्र वारुणयन्त्र दमकल रहेको छ ।

आगलागीमा अन्न, लत्ताकपडा धान, जलेर लगभग १७ लाख ३४ हजार ७०० रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली र गाउँले मिलेर आगलीको झन्डै ४ घण्टा पछी आगो नियन्त्रणमा आएको थियो ।