पर्सा , चैत्र २१ गते ।
मापदण्ड विपरीत सामान बिक्री गर्ने पर्साका ६४ फर्म कारबाहीमा परेका छन् । बिनाअनुमति सञ्चालन भएका तथा तोकिएको मापदण्ड विपरीत सामान बिक्री गर्ने पर्साका ६४ व्यावसायिक फर्म कारबाहीमा परेका हुन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज पर्साले अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री गर्ने, मूल्यसूची नराख्ने, खरिद बिल नकाट्ने र इजाजत नलिएका ६४ व्यावसायिक फर्ममाथि कारबाही गरेको हो । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिना अवधिमा ती व्यावसायिक फर्ममाथि गरिएको कारबाहीबाट एक लाख ४९ हजार राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी दिलीप खङ्ग खत्बेले जानकारी दिए ।
यस्तै चालु आव २०७९÷८० को आठ महिना अवधिमा प्राइभेट र साझेदारी फर्म गरी दुई सय ४३ वटा व्यावसायिक फर्म दर्ता भएको छ । सो अवधिमा एक हजार छ सय ३९ प्राइभेट फर्म र ४३ साझेदार फर्मको नवीकरण गरिएको र छ सय ७७ प्राइभेट तथा १३ साझेदार फर्म संशोधन गरिएको सूचना अधिकारीले बताए ।
यता उक्त अवधिमा एक सय ७५ वटा प्राइभेट र पाँचवटा साझेदार फर्मको दर्ता खारेज गरिएको उनले जानकारी दिए । ती सबै शीर्षकबाट ८० लाख ३४ हजार तीन सय रुपैयाँ राजस्व सङ्कलन भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले बताएको छ । म्याद गुज्रिएको सामान बिक्री गर्ने, खरिद र बिक्री बिल नकाट्ने तथा मूल्यसूची नराख्ने प्रवृत्ति बढेकाले बजार अनुगमनलाई निरन्तता दिएको कार्यालय प्रमुख सुरेशकुमार रेग्मीले जानकारी दिए ।