काठमाडौं, फागुन ११-
आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले रात्रिकालीन उडान गर्ने भएको छ । विमानस्थलको अनुसार आजदेखि रात्रिकालीन उडानका लागि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू भएको हो ।
‘यो प्रणाली लागू भएसँगै पोखरा विमानस्थलबाट रातिको समयमा पनि सहज रुपमा उडान र अवतरण गर्न सकिनेछ,’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले भने ।
विमानस्थल प्रमुख गौतमका अनुसार मंगलबार र बुधबार आइएफआर प्रणालीको परीक्षण गरिएको थियो । ‘अब विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म गरी १८ घन्टा सेवा दिन तयार छ,’ उनले भने । अहिले दिउँसो ४ बजेसम्ममात्रै उडान हुँदै आएको थियो ।
बुद्ध एयरको जहाज आइएफआर प्रणालीबाट बिहानको पहिलो फ्लाइट विमानस्थलमा अवतरण गरिसकेको विमानस्थलले जानकारी दिएको छ । यती एअरलाइन्स स्रोतका अनुसार उक्त प्रणालीबाट यतीले शुक्रबार जहाज उडान र अवतरण गर्ने तयारीमा छ ।