२६ लाखको लागतमा निर्मित जनहित उपभोक्ता समितिको सभाहल उद्घाटन

रञ्जन यादब /बारा २६ असोज

मध्यवर्ती जनहित उपभोक्ता समितिले करिब २६ लाख रुपैयाँको लागतमा निर्माण गरेको सभाहलको आज उद्घाटन गरेको छ । मधेश प्रदेशसभा सदस्य देव नारायण चौधरीले रिबन काटेर सभाहलको उद्घाटन गर्नुभएको हो ।


स्थानीयस्तरमा सभा, बैठक, छलफल तथा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्न सहज बनाउने उद्देश्यले निर्माण गरिएको सभाहलले समुदायका गतिविधि सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सभाहल निर्माणका लागि जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ को कार्यालयबाट ७ लाख रुपैयाँ, वडा नम्बर ३ को कार्यालयबाट ५ लाख रुपैयाँ, कार्यपालिका सदस्य बुद्धकुमारी अधिकारीबाट ५ लाख रुपैयाँ, उपमहानगरपालिकाको नगरस्तरीय बजेटबाट ३ लाख रुपैयाँ र पर्सा राष्ट्रिय निकुञ्जबाट २ लाख रुपैयाँ सहयोग प्राप्त भएको समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै, समितिको आफ्नै कोषबाट ४ लाख रुपैयाँ खर्च गरिएको उहाँले बताउनुभयो ।

सभाहल उद्घाटन कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जको प्रमुखका रूपमा आउनुभएका वरिष्ठ संरक्षण अधिकृत डा. अशोक रामलाई समितिले सम्मान तथा स्वागत गरेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै डा. रामले पर्सा राष्ट्रिय निकुञ्ज पर्यापर्यटनका दृष्टिले महत्त्वपूर्ण सम्भावना बोकेको क्षेत्र भएको बताउनुभयो । निकुञ्जको पर्यापर्यटन प्रवद्र्धनका लागि पथलैयाबाटै कामको सुरुवात गर्नुपर्ने उहाँको धारणा थियो ।

पथलैयामा पोस्ट स्थापना गरी रेञ्जर तहका एक जना कर्मचारी खटाउने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो । यसबाट निकुञ्जको संरक्षण, व्यवस्थापन तथा पर्यापर्यटन प्रवद्र्धनका गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसअघि पनि पर्सा राष्ट्रिय निकुञ्जको कार्यालय प्रमुखका रूपमा काम गरिसकेको अनुभव सुनाउँदै डा. रामले पुनः निकुञ्जको नेतृत्व गर्ने जिम्मेवारी आफ्ना लागि चुनौती र अवसर दुवै भएको बताउनुभयो ।

कार्यक्रममा स्थानीय सरोकारवाला, समितिका पदाधिकारी तथा अन्य सहभागीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपालीहरूको महान् चाड बडादसैँ, तिहार, छठ तथा नेपाल संवत् नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदानसमेत गरिएको थियो ।

कार्यक्रमको सञ्चालन समितिका सचिव पेशल मुल्मीले गर्नुभएको थियो ।