बारा, ०२ असोज
बारामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै घटनामा एक वृद्ध र एक नाबालकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वासिराबाट ७५ वर्षीय हसन जान मियाँलाई बिहीबार राति पक्राउ गरिएको हो। त्यस्तै, जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयाका १४ वर्षीय नाबालकलाई शुक्रबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पथलैयामा भएको घटनाबारे पीडित बालिकाका अभिभावकले प्रहरीलाई जानकारी गराएपछि प्रहरी चौकी पथलैयाको टोलीले आरोपित नाबालकलाई घरबाटै नियन्त्रणमा लिएको हो। उनलाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको छ।
प्रहरीका अनुसार पक्राउ परेका नाबालकले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन्। पीडित बालिका र आरोपित नाबालक दुवैको स्वास्थ्य परीक्षण तथा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) सम्बन्धी प्रक्रिया पूरा गर्न प्रादेशिक अस्पताल कलैया पठाउने तयारी गरिएको छ।
यसैगरी, पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका वृद्ध मियाँमाथि पनि इलाका प्रहरी कार्यालय सिमराले अनुसन्धान अघि बढाइरहेको छ।
बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बालिकामाथि जबर्जस्ती करणीको आरोपमा एक वृद्ध र एक नाबालक पक्राउ परेको पुष्टि गरेका छन्। दुवै घटनामा आवश्यक अनुसन्धान तथा स्वास्थ्य परीक्षणपछि कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।




