रञ्जन यादव /बारा ०३ असोज
साना किसान कृषि सहकारी संस्था लिमिटेड, सिमरा बाराको १२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका ज्येष्ठ सदस्य पुष्पा दहालले पानसमा बत्ती बालेर साधारण सभाको उद्घाटन गर्नुभएको थियो। संस्थाका अध्यक्ष कमला कुमारी रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, आगामी योजना तथा शेयर सदस्यलाई प्रदान गरिने लाभांशलगायतका विषयमा छलफल गरिएको थियो।
कार्यक्रमको सञ्चालन संस्थाकी सचिव मिरा पुरीले गर्नुभएको थियो।सहकारीले आर्थिक वर्ष २०८२÷०८३ मा १ करोड ५ लाख ७३ हजार ५ सय १९ रुपैयाँ नाफा आर्जन गरेको जनाएको छ। संस्थाले उक्त आर्थिक उपलब्धिका आधारमा शेयर सदस्यलाई १२ प्रतिशत शेयर लाभांश र २ प्रतिशत संरक्षित पुँजी कोषबाट लाभ प्रदान गर्ने अध्यक्ष रिमालले जानकारी दिनुभयो।असार मसान्तसम्म संस्थामा १ हजार ५ सय ३५ जना शेयर सदस्य रहेका छन्।
त्यस्तै, संस्थामा २७३ वटा अन्तरसमूह र ५०७ जना ऋणी सदस्य रहेको जनाइएको छ।संस्थाका सहजकर्ता कलोत्तम पोख्रेलका अनुसार आर्थिक वर्ष २०८२÷०८३ मा संस्थाको कुल कारोबार ५३ करोड २१ लाख ४६ हजार ७ सय ४४ रुपैयाँ पुगेको छ। संस्थाको शेयर पुँजी १ करोड ५३ लाख ९७ हजार ७ सय रुपैयाँ, बचत संकलन ५ करोड २५ लाख ४ सय ८३ रुपैयाँ र ऋण लगानी २० करोड ९६ हजार १ सय ३१ रुपैयाँ रहेको छ।त्यस्तै, संस्थाले सो अवधिमा ५ करोड ८६ लाख ६७ हजार ४ सय ३७ रुपैयाँ बराबरको सम्पत्ति तथा दायित्व आर्जन गरेको पोख्रेलले जानकारी दिनुभयो।
साधारण सभामा संस्थाको वित्तीय अवस्था, शेयर सदस्यको सहभागिता, बचत तथा ऋण कारोबार र आगामी दिनमा सहकारीका सेवा थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो। सदस्यको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउने उद्देश्यले सहकारीमार्फत बचत गर्ने बानीको विकाससँगै आवश्यकताअनुसार ऋण तथा अन्य वित्तीय सेवा उपलब्ध गराउँदै आएको संस्थाले जनाएको छ।कार्यक्रममा संस्थाका पदाधिकारी, सञ्चालक समिति, शेयर सदस्य तथा कर्मचारीको सहभागिता रहेको थियो। साधारण सभामार्फत संस्थाको आगामी कार्यदिशा र योजनालाई थप व्यवस्थित बनाउँदै शेयर सदस्यको हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।




