अमलेखगञ्जमा जलेको अवस्थामा पुरुषको शव फेला

बारा, २ असोज /

बाराको अमलेखगञ्जमा ४७ वर्षीय पुरुषको शव जलेको अवस्थामा फेला परेको छ । जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित दुई नम्बर पुल नजिक शुक्रबार दिउँसो स्थानीयले वीरबहादुर स्याङ्तानको शव फेला पारेका हुन् ।

बिहीबार बिहानदेखि सम्पर्कविहीन रहेका स्याङ्तानको खोजी गर्ने क्रममा स्थानीयले उनको शव जलेको अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।घटनाको सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई शल्यपरीक्षणका लागि प्रादेशिक अस्पताल कलैया पठाएको छ ।

बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले शव जलेको अवस्थामा फेला परेको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । उनका अनुसार शवको शल्यपरीक्षण प्रक्रिया अघि बढाइएको छ ।परिवारसहित काठमाडौंमा बस्दै आएका स्याङ्तान केही दिनअघि मात्रै अमलेखगञ्ज आएका थिए । उनी बिहीबार बिहान विश्वकर्मा पूजाको प्रसाद खाएपछि बेखबर भएको परिवारजनले बताएका छन् ।
शव जलेको अवस्थामा फेला परेपछि घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।