नगर अस्पतालमै सर्पदंश उपचारको तयारी, स्वास्थ्यकर्मी तालिममा सहभागी

रञ्जन यादब /बारा, ०२ असोज

जीतपुरसिमरा उपमहानगरपालिकाका नागरिकले अब सर्पदंशको उपचारका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य हुने सम्भावना बढेको छ। जीतपुरसिमरा नगर अस्पतालमै सर्पदंश उपचार सेवा सञ्चालन गर्ने तयारीस्वरूप आवश्यक स्वीकृति प्रक्रियालाई अघि बढाइएको छ । नेपाल सरकारको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सर्पदंश तथा रेबिजसम्बन्धी तालिममा सहभागी हुन नगर अस्पतालका स्वास्थ्यकर्मीलाई बोलाएको छ। दुईदिने तालिमका लागि अस्पतालका डा. सुरज साह र हेल्थ असिस्टेन्ट दिपेन्द्र चौधरी जनकपुरधाम पुगेको नगर प्रमुख राजन पौडेलले जानकारी दिए ।

प्रादेशिक अस्पताल जनकपुरधामको सभाहलमा असोज २ र ३ गते सञ्चालन भइरहेको तालिमपछि अस्पतालमा सर्पदंश उपचार सेवा सञ्चालनका लागि बाँकी प्रक्रिया अघि बढाइने जनाइएको छ। केहि दिन अघि मात्र ईपिडिमियोलोजी तथा नियन्त्रण महाशाखाको टोलीले अस्पतालको निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा सर्पदंश उपचार सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार र मापदण्डको अवस्थाबारे अध्ययन गरिएको थियो।सर्पदंशका गम्भीर बिरामीको उपचारमा आवश्यक पर्ने भेन्टिलेटर नगर अस्पतालमा उपलब्ध रहेको र नयाँ भवनमा समेत जडान भइसकेको जयसवालले बताए।

स्वास्थ्यकर्मीको तालिमपछि आवश्यक प्रक्रिया पूरा गरी स्वीकृति प्राप्त भए नगर अस्पतालबाटै सर्पदंशको उपचार सुरु गर्न सकिनेछ। सेवा सञ्चालनमा आएमा जीतपुरसिमरा मात्र नभई आसपासका क्षेत्रका नागरिकलाई समेत आपत्कालीन अवस्थामा समयमै उपचार पाउने सुविधा पुग्ने अपेक्षा गरिएको छ।