टाङियाबस्तीका युवालाई खेलकुद सामग्री, स्थानीय खेलाडी उत्पादनमा वडाको जोड

बारा, ३० भाद्र

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाङियाबस्तीमा खेलकुद गतिविधि बढाउने उद्देश्यले ओजेल युवा क्लबलाई विभिन्न खेलकुद सामग्री उपलब्ध गराइएको छ।

वडा कार्यालयले वडा स्तरीय बजेटमार्फत खरिद गरेका खेल सामग्री मंगलबार आयोजित कार्यक्रममा वडाध्यक्ष हरिदेव खरेलले क्लबका अध्यक्ष दुतराज बोम्जनलाई हस्तान्तरण गर्नुभएको हो।

 

क्लबलाई फुटबल, खेलाडीका लागि जुत्ता तथा मोजा, जर्सी सेट र ट्रयाकसुटलगायत सामग्री प्रदान गरिएको छ। सामग्री हस्तान्तरण गर्दै वडाध्यक्ष खरेलले खेलकुदलाई मनोरञ्जनका रूपमा मात्र नभई युवाको शारीरिक तथा मानसिक विकास र अनुशासनसँग जोडेर अघि बढाउनुपर्ने बताउनुभयो।युवालाई सकारात्मक गतिविधिमा सक्रिय बनाउँदै टोलस्तरबाटै प्रतिभावान खेलाडी पहिचान र उत्पादन गर्ने उद्देश्यले वडाले खेलकुद क्षेत्रमा सहयो गलाई प्राथमिकता दिएको उहाँको भनाइ छ। वडाध्यक्ष खरेलका अनुसार वडा क्षेत्रका अन्य टोलमा पनि आवश्यकता पहिचान गरी फुटबललगायत खेल सामग्री वितरण गर्ने काम भइरहेको छ।

खेल सामग्री प्राप्त भएपछि ओजेल युवा क्लबका अध्यक्ष दुतराज बोम्जनले खेलाडीको नियमित अभ्यास तथा प्रतियोगितामा सहभागिताका लागि सहयोग पुग्ने बताउनुभयो। वडाको सहयोगले खेलाडीमा थप उत्साह बढ्नुका साथै स्थानीयस्तरमा सक्षम टिम निर्माण गर्न सहज हुने उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाकी कार्यपालिका सदस्य पवित्रा माया कार्की, वडा सदस्य प्रेमबहादुर गोले, स्थानीय बासिन्दा तथा क्लबका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
वडा कार्यालयले टोल–टोलमा खेलकुदको पहुँच विस्तार गर्दै युवालाई नियमित रूपमा खेलकुद गतिविधिमा सहभागी गराउने योजना अघि बढाएको जनाएको छ।