रञ्जन यादब /बारा, ३० भाद्र
खुला सीमाबाट हुने अवैध गतिविधि नियन्त्रणलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीले सीमा क्षेत्रमा निगरानी र परिचालन थप कडा बनाउने भएको छ।
छिन्नमस्ता बाहिनीका बाहिनीपति डीआईजी विष्णुप्रसाद भट्टले सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वार्टर बाराको निरीक्षण गर्दै सीमा अपराध तथा चोरी–तस्करी नियन्त्रणमा कुनै प्रकारको सम्झौता नगर्न मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिनुभएको हो।
सीमा क्षेत्रमा हुने तस्करी, चोरी–पैठारी, अवैध ओसारपसार तथा लागुऔषध, हातहतियार र प्रतिबन्धित वस्तुको कारोबार नियन्त्रणलाई प्राथमिकतामा राख्न उहाँले निर्देशन दिनुभएको बताइएको छ।
डीआईजी भट्टले विशेषगरी संवेदनशील नाकामा आकस्मिक गस्ती, नियमित चेकजाँच तथा निगरानी प्रणालीलाई प्रभावकारी बनाउन जोड दिनुभएको छ। सीमा अपराध नियन्त्रणका लागि प्रहरी परिचालनसँगै प्राप्त सूचनाको संकलन, विश्लेषण र समयमै प्रयोग गर्नुपर्ने उहाँको भनाइ थियो।
सीमा सुरक्षामा एक्लो प्रयास पर्याप्त नहुने भन्दै उहाँले नेपाल प्रहरी, भन्सार कार्यालय, स्थानीय प्रशासन तथा भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग आवश्यक समन्वय र सूचना आदान–प्रदानलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।
निरीक्षणका क्रममा नं. १२ गणका कमाण्डरहरूले आफ्नो जिम्मेवारी क्षेत्रमा रहेको सीमा सुरक्षाको अवस्था, अपराध नियन्त्रणका लागि भइरहेको परिचालन तथा आगामी सुरक्षा योजनाबारे डीआईजी भट्टलाई जानकारी गराएका थिए।
डीआईजी भट्टको निरीक्षणलाई सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप चुस्त बनाउने र अवैध गतिविधिमाथि निगरानी बढाउने रणनीतिक कदमका रूपमा हेरिएको छ।




