रञ्जन यादव /बारा २९ भाद्र
बाराको जीतपुरमा गणेश चतुर्थि महोत्सव सुरु भएको छ । २ सय ८० किलो तौलको विशाल लड्डु आकर्षणको केन्द्र बन्ने गरी सप्ताहव्यापी गणेश चतुर्थी पूजा तथा महोत्सव सुरु भएको हो । एउटा हात्ती , पाँचवटा घोडा र बाजागाँजा सहित हजारौँको भक्तालुहरु सहित निकालिएको शोभा यात्राले जीतपुर परिक्रममा गरेको थियो । श्री सिद्धि विनायक पूजा समिति जीतपुरको आयोजनामा भईरहेको गणेश चतुर्थि पुजा चार दिन सम्म चल्ने आयोजक मुल समिती अध्यक्ष श्रीराम साह कानुले जानकारी दिनुभयो ।
महोत्सवमा गणेश भगवानको प्रतिमाको मुख खोलेर जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ का वडा अध्यक्ष सुनिल गुप्ताले मुखार्पण गरेका थिए । यस वर्ष महोत्सवको प्रमुख आकर्षणका रूपमा एउटै २ सय ८० किलोको विशाल लड्डु तयार पारिएको रहेको छ । गत वर्ष २ सय ७० किलोको लड्डु तयार पारिएकोमा यस पटक थप १० किलो बढाएर २ सय ८० किलोको लड्डु बनाईएकोे आयोजकले जनाएको छ ।
हरेक दिन पूजा तथा आरती सम्पन्न भएपछि महोत्सव अवधिभर दैनिक ५० किलो लड्डु भक्तजन तथा दर्शनार्थीलाई प्रसादका रूपमा वितरण गरिने अध्यक्ष कानुले बताउनुभयो। धार्मिक कार्यक्रमसँगै महोत्सवमा हरेक दिन भजन–कीर्तन सञ्चालन गरिनेछ भने साँझ तथा रातिको समयमा विभिन्न धार्मिक तथा सांस्कृतिक झाँकी प्रस्तुत गरिने समितीका उपाध्यक्ष जय सागरले जानकारी दिनुभयो । जीतपुरमा विगत १९ वर्षदेखि गणेश चतुर्थीको अवसरमा गणेश भगवानको पूजा तथा महोत्सव आयोजना हुँदै आएको श्री सिद्धि विनायक पूजा समितिले जनाएको छ।




