रञ्जन यादव /बारा २१ साउन
जिल्ला प्रशासन कार्यालय बाराले बजारमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति, पारदर्शी वितरण तथा कालोबजारी नियन्त्रण गर्ने अभियानअन्तर्गत कलैयाका तीन वटा एलपी ग्यास पसलमा छड्के अनुगमन गरेको छ।
बिहीबार जिल्ला प्रशासन कार्यालय बाराका नायब सुब्बा रत्नबहादुर स्याङतानको नेतृत्वमा खटिएको अनुगमन टोलीले कलैया बजारस्थित न्यु शिवशक्ति स्टोर्स, सोना ग्यास स्टोर्स र अस्मिता स्टोर्समा अनुगमन गरेको हो।
अनुगमनका क्रममा न्यु शिवशक्ति स्टोर्सले ग्यास सिलिन्डर खुद्रा रूपमा पल्टी गरेर बिक्री गरिरहेको पाइएको नायब सुब्बा स्याङतानले जानकारी दिनुभयो। उपभोक्ताको हितविपरीत हुने गरी गरिएको यस्तो कार्य तत्काल बन्द गर्न निर्देशन दिँदै पुनः दोहोरिए कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको उहाँले बताउनुभयो।त्यसैगरी, सोना ग्यास स्टोर्सले बिक्रीका लागि पसलमा राख्नुपर्ने पाँच वटा ग्यास सिलिन्डर पसलमा नराखी आफ्नै घरमा भण्डारण गरेको भेटिएको थियो। प्रशासनले ती सिलिन्डर तत्काल पसलमै ल्याएर बिक्री व्यवस्थापन गर्न निर्देशन दिएको छ। यस प्रकारको कार्यले बजारमा ग्यास अभावको भ्रम सिर्जना गर्न सक्ने भएकाले आगामी दिनमा यस्ता गतिविधि नगर्न सचेत गराइएको स्याङतानले जानकारी दिनुभयो।अनुगमनमा परेको अस्मिता स्टोर्समा भने कुनै प्रकारको अनियमितता वा कैफियत फेला नपरेको उहाँले बताउनुभयो। पसलमा मूल्यसूची, स्टक व्यवस्थापन तथा बिक्री प्रक्रिया सन्तोषजनक रहेको अनुगमन टोलीको निष्कर्ष छ।

प्रशासनका अनुसार पछिल्लो समय बजारमा एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, आवश्यकताभन्दा बढी मौज्दात राख्ने, लुकाइछिपाइ बिक्री गर्ने तथा उपभोक्तालाई अनावश्यक सास्ती दिने गतिविधिबारे गुनासा बढेपछि अनुगमनलाई तीव्र बनाइएको हो। अब जिल्लाभरका ग्यास डिलर, वितरक तथा खुद्रा विक्रेतामाथि नियमित तथा आकस्मिक अनुगमन गरिने प्रशासनले जनाएको छ।
यसअघि बुधबार प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले एलपी ग्यासको सहज आपूर्ति तथा निष्पक्ष वितरण सुनिश्चित गर्न ग्यास उत्पादक, वितरक र डिलरहरूका लागि नौ बुँदे निर्देशन जारी गर्नुभएको थियो। उक्त निर्देशनमा कृत्रिम अभाव सिर्जना नगर्न, तोकिएको मूल्यमा मात्र बिक्री गर्न, मौज्दात लुकाएर नराख्न, उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन तथा सम्बन्धित निकायसँग समन्वय गरेर वितरण प्रणालीलाई व्यवस्थित बनाउन आग्रह गरिएको छ।जिल्ला प्रशासन कार्यालयले बजारमा कालोबजारी, कृत्रिम अभाव तथा उपभोक्ता ठगीका गतिविधि सह्य नहुने स्पष्ट गर्दै नियम उल्लङ्घन गर्ने व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको छ। साथै, उपभोक्तालाई कुनै पनि अनियमितता देखिएमा जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित निकायमा उजुरी दिनसमेत आग्रह गरिएको छ।




