पूर्व–पश्चिम राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर दुर्घटना, आगलागीपछि पूर्ण रूपमा जलेर नष्ट

 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ धनसर पुल नजिक पेट्रोल बोकेको ट्याङ्कर दुर्घटना हुँदा आगलागी भई पूर्ण रूपमा जलेर नष्ट भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको म.प्र. ०३–००१ ख ७८११ नम्बरको ट्याङ्करमा करिब १२ हजार लिटर पेट्रोल लोड गरिएको थियो। दुर्घटनापछि ट्याङ्करमा अचानक आगलागी भएको हो।

आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भए पनि चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ। घटनापछि केही समय राजमार्गमा सवारी आवागमन प्रभावित भए पनि आगो नियन्त्रणमा आएपछि राजमार्ग पुनः सञ्चालनमा ल्याइएको छ।
दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

पेट्रोल जस्तो अत्यधिक ज्वलनशील पदार्थ बोकेको सवारी दुर्घटनामा पर्दा ठूलो जोखिम निम्तिन सक्ने भएकाले यात्रा गर्दा चालकले विशेष सावधानी अपनाउन तथा सवारी साधनको प्राविधिक अवस्था नियमित परीक्षण गर्न आवश्यक रहेको देखिएको छ।