रञ्जन यादव /बारा २१ साउन
बाराको सिमरास्थित हुलास स्टिल इण्डष्ट्रिज प्रा.लि.ले आफ्नो ४५औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ। स्थापना दिवसको अवसरमा उद्योगले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई विभिन्न विधाका अवार्ड प्रदान गर्दै सम्मान गरेको छ।
उद्योगका प्रबन्ध निर्देशक हिमांशु गोल्छाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाका प्रशासन कार्यालय सिमराका प्रमुख राजेन्द्र प्रसाद कँडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा उद्योगका उच्च पदस्थ अधिकारी, कर्मचारी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक गोल्छाले नेपालको औद्योगिक क्षेत्रलाई थप प्रतिस्पर्धी बनाउन उद्योगमैत्री नीति आवश्यक रहेको बताउनुभयो। स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने, उत्पादन लागत घटाउने तथा लगानीमैत्री वातावरण सिर्जना गर्ने नीतिले मात्र देशको औद्योगिक विकासले गति लिने उहाँको भनाइ थियो। उहाँले हुलास स्टिलले विगत ४५ वर्षदेखि गुणस्तरीय स्टिलजन्य सामग्री उत्पादन गर्दै राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गर्नुभयो।

गत आर्थिक वर्षमा उद्योगले करिब एक लाख मेट्रिक टन उत्पादन गरेको जानकारी दिँदै आगामी दिनमा उत्पादन क्षमता तथा प्रविधिलाई थप आधुनिकीकरण गर्दै जाने योजना रहेको बताउनुभयो।स्थापना दिवसको अवसरमा उद्योग परिसरमा वृक्षारोपण कार्यक्रम समेत आयोजना गरिएको थियो। वातावरण संरक्षणप्रति उद्योगको प्रतिबद्धता व्यक्त गर्दै विभिन्न प्रजातिका बिरुवा रोपिएको उद्योगले जनाएको छ। कार्यक्रममा उद्योगले वातावरणीय प्रदूषण नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्दै काम गरिरहेको दाबी गरिएको थियो। डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने उपकरणहरूको प्रयोग क्रमशः न्यूनीकरण गर्दै ऊर्जा–दक्ष र वातावरणमैत्री प्रविधि अपनाइएको जानकारी उद्योग व्यवस्थापनले दिएको छ।

आधुनिक प्रविधिको प्रयोग, ऊर्जा बचत तथा उत्सर्जन घटाउने उपायहरू अवलम्बन गर्दै हरित उद्योगको अवधारणालाई आत्मसात् गरिएको पनि कार्यक्रममा उल्लेख गरिएको थियो। स्थापना दिवसका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई सम्मानपत्र तथा अवार्ड प्रदान गरिएको थियो। उद्योगको उत्पादन वृद्धि, गुणस्तर कायम राख्न तथा संस्थागत विकासमा योगदान पु¥याउने कर्मचारीहरूको मेहनतको कदरस्वरूप सम्मान गरिएको व्यवस्थापनले जनाएको छ।कार्यक्रमका सहभागीहरूले स्वदेशी उद्योगको संरक्षण, रोजगारी सिर्जना, प्रविधिको विकास तथा वातावरणमैत्री उत्पादन प्रणालीलाई अझ प्रभावकारी बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।





