बारामा एलपी ग्यास बिक्रीमा प्रशासनको कडाइ, ९ बुँदे निर्देशन जारी

बारा जिल्लामा खाना पकाउने एलपी ग्यासको आपूर्ति र बिक्री–वितरणलाई व्यवस्थित तथा पारदर्शी बनाउन जिल्ला प्रशासन कार्यालयले ९ बुँदे निर्देशन जारी गरेको छ। बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भएको, उपभोक्ताले सहज रूपमा ग्यास नपाएको तथा तोकिएको मूल्यभन्दा बढी रकम असुलिएको गुनासो बढ्न थालेपछि प्रशासनले यस्तो कदम चालेको हो।

बुधबार साँझ प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जारी गरेको निर्देशनमा ग्यास उत्पादक, वितरक तथा डिलरहरूलाई अनावश्यक रूपमा ग्यास मौज्दात नराख्न, कृत्रिम अभाव सिर्जना नगर्न तथा सरकारले निर्धारण गरेको मूल्यभन्दा बढीमा बिक्री नगर्न स्पष्ट निर्देशन दिइएको छ। साथै, ग्यास वितरण प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन खाली सिलिन्डर बुझाएपछि मात्र भरिएको सिलिन्डर उपलब्ध गराउनुपर्ने व्यवस्था कार्यान्वयन गर्न पनि भनिएको छ।

निर्देशनमा जिल्लाभित्र सञ्चालनमा रहेका सबै ग्यास व्यवसायीलाई बिक्री तथा मौज्दातको नियमित अभिलेख राखी सम्बन्धित निकायमा उपलब्ध गराउन आग्रह गरिएको छ। प्रशासनले तोकिएका मापदण्डको पूर्ण पालना गर्न सबै व्यवसायीलाई सचेत गराउँदै नियम उल्लंघन गर्नेहरूलाई कानुनबमोजिम कारबाही गरिने जनाएको छ।

प्रमुख जिल्ला अधिकारी मिश्रले बजार अनुगमनलाई थप प्रभावकारी बनाइने जानकारी दिँदै कालोबजारी, कृत्रिम अभाव वा उपभोक्तामाथि हुने अन्य कुनै पनि अनियमितताको सूचना तत्काल प्रशासनलाई उपलब्ध गराउन सर्वसाधारणसँग अपिल गरेका छन्। यसका लागि सहायक प्रमुख जिल्ला अधिकारीको मोबाइल नम्बर ९८५५०४५४०३ मा प्रत्यक्ष सम्पर्क गर्न वा ९८५५००७७७८ नम्बरको ह्वाट्सएपमार्फत जानकारी पठाउन सकिने व्यवस्था गरिएको प्रशासनले जनाएको छ।