जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले मनायो नवौं स्थापना दिवस

रञ्जन यादब /बारा २० साउन

‘समृद्ध व्यापार, संगठित उद्योग, सबल अर्थतन्त्र’ भन्ने मूल नारालाई आत्मसात गर्दै जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले आफ्नो नवौं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ।
संघको कार्यालयमा आयोजित स्थापना दिवस कार्यक्रममा उद्योग, व्यापार तथा आर्थिक क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा संघका वर्तमान पदाधिकारी, कार्यसमिति सदस्य, उद्योगी–व्यवसायी, शुभेच्छुक तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी भएका थिए। साथै, संघका निवर्तमान अध्यक्ष मोहन शर्मा लामिछानेको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष गजेन्द्र कुमार गुप्ताले स्थापना भएदेखि नै संघले स्थानीय उद्योग तथा व्यवसायको प्रवद्र्धन, उद्यमीहरूको अधिकार संरक्षण र निजी क्षेत्रको सशक्तीकरणका लागि निरन्तर काम गर्दै आएको बताए। उनले उद्योगी–व्यवसायीका समस्या समाधान, सहकार्यको वातावरण निर्माण तथा आर्थिक गतिविधिलाई थप गतिशील बनाउन संघ प्रतिबद्ध रहेको उल्लेख गरे।

कार्यक्रममा बोल्ने वक्ताहरूले स्थानीय उत्पादनको प्रवद्र्धन, उद्योगमैत्री वातावरण निर्माण, रोजगारीका अवसर विस्तार तथा आर्थिक विकासलाई तीव्र बनाउन निजी क्षेत्र, स्थानीय सरकार र सम्बन्धित निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
स्थापना दिवसको अवसरमा संघले सम्पूर्ण उद्योगी, व्यवसायी, सदस्य तथा शुभेच्छुकहरूलाई शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि ‘एकता, सहकार्य, समर्पण र विश्वास’ को भावनालाई अझ सुदृढ बनाउँदै उद्योग–व्यवसायको विकास र उद्यमीहरूको हकहितका पक्षमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ।