बारा जिल्लामा शतप्रतिशत धान रोपाइँ सम्पन्न, लक्ष्यभन्दा बढी क्षेत्रफलमा खेती

रञ्जन यादव /बारा २० साउन

यस वर्ष बारा जिल्लामा धान रोपाइँ शतप्रतिशत सम्पन्न भएको छ। समयमै पर्याप्त वर्षा भएपछि किसानहरूले सहज रूपमा रोपाइँ सम्पन्न गरेका हुन्।कृषि ज्ञान केन्द्र बाराका कार्यालय प्रमुख राजनारायण प्रसाद साहका अनुसार साउन २० गतेसम्म जिल्लाभर धान रोपाइँ सकिएको छ। चालु आर्थिक वर्षमा जिल्लामा करिब ४५ हजार १०० हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य राखिएको भए पनि अनुकूल मौसम र पर्याप्त वर्षाका कारण ४६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको उहाँले जानकारी दिनुभयो।

गत आर्थिक वर्षमा भने लामो समयसम्म वर्षा नहुँदा सुख्खाको समस्या देखिएको थियो। त्यसबेला ४६ हजार २० हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य रहे पनि ४५ हजार ९९ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको थियो, जुन लक्ष्यको करिब ९८ प्रतिशत हो।कार्यालय प्रमुख साहका अनुसार यस वर्ष मनसुन समयमै सक्रिय भएकाले किसानले रोपाइँका लागि पर्याप्त सिँचाइको सुविधा पाएका थिए। अधिकांश स्थानमा असारको दोस्रो सातादेखि नै रोपाइँ तीव्र रूपमा अघि बढेको र साउन २० गतेसम्म सबै स्थानीय तहमा धान रोपाइँ सम्पन्न भएको उहाँले बताउनुभयो।

बारा जिल्लामा मुख्य खाद्यान्न बालीका रूपमा धान खेती हुँदै आएको छ। यहाँको कृषि योग्य जमिनमध्ये ठूलो हिस्सा धान उत्पादनमा प्रयोग हुने गरेको छ। जिल्लामा सावित्री, साँवा मन्सुली, राधा–४, हर्दिनाथ, सुक्खा धान लगायतका उन्नत जातका धान किसानले बढी मात्रामा लगाउने गरेका छन्।कृषि ज्ञान केन्द्रले यस वर्ष उन्नत बीउ, प्राविधिक परामर्श तथा रोग–कीरा व्यवस्थापनसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेकाले पनि किसानलाई खेती गर्न सहज भएको जनाएको छ।

अब धानबालीमा गोडमेल, मल व्यवस्थापन तथा रोग–कीराको नियमित अनुगमन गर्न किसानलाई आग्रह गरिएको छ।पर्याप्त वर्षासँगै लक्ष्यभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएपछि यस वर्ष बारामा धान उत्पादनसमेत वृद्धि हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। यदि बाँकी समय पनि मौसम अनुकूल रह्यो र प्राकृतिक विपद् तथा रोग–कीराको प्रकोप नदेखिएमा गत वर्षको तुलनामा उत्पादन उल्लेख्य रूपमा बढ्ने विश्वास कृषि प्राविधिकहरूले व्यक्त गरेका छन्।