रञ्जन यादब /बारा २२ असार
यातायात व्यवस्था कार्यालय बाराको कार्यालय प्रमुख कक्ष भित्रै एक सेवाग्राहीमाथि कार्यालय प्रमुखसहित केही कर्मचारीले हातपात गरेको देखिने भिडियो सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको छ। भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिन थालेपछि मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालयले घटनाप्रति गम्भीर चासो देखाउँदै आवश्यक प्रक्रिया अघि बढाउने संकेत दिएको छ। प्राप्त जानकारीअनुसार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी कामका लागि कार्यालय पुगेका एक सेवाग्राही र कार्यालयका कर्मचारीबीच सामान्य भनाभनबाट सुरु भएको विवाद केही समयमै तनावपूर्ण बनेको थियो।
त्यसक्रममा कार्यालय प्रमुखको कार्यकक्षभित्रै सेवाग्राहीमाथि हातपात भएको देखिने भिडियो सार्वजनिक भएपछि सरकारी कार्यालयमा सेवाग्राहीको सुरक्षामाथि प्रश्न उठेको छ।
भाइरल भिडियोमा कार्यालय प्रमुखको कार्यकक्षमा सेवाग्राही, केही कर्मचारी तथा दुई जना प्रहरीबीच छलफल भइरहेको देखिन्छ। सोही क्रममा सेवाग्राहीले मोबाइल फोनबाट भिडियो रेकर्ड गर्न खोजेपछि विवाद थप चर्किएको दृश्य देखिन्छ। त्यसपछि केही कर्मचारीले सेवाग्राहीलाई धकेल्ने, कार्यालय प्रमुखले शारीरिक रूपमा नियन्त्रणमा लिन खोज्ने तथा अन्य कर्मचारीसमेत घटनामा संलग्न भएको जस्तो देखिन्छ। उपस्थित प्रहरीले भने दुवै पक्षलाई छुट्याएर अवस्था सामान्य बनाउन प्रयास गरेको दृश्य भिडियोमा देख्न सकिन्छ। घटनाका क्रममा सेवाग्राहीको मोबाइलसमेत खोसिएको आरोप सार्वजनिक भएको छ। घटनापछि सामाजिक सञ्जालमा सर्वसाधारणले सरकारी कार्यालयभित्र सेवाग्राहीमाथि भएको भनिएको दुव्र्यवहारको निष्पक्ष छानबिन गरी दोषी देखिएकामाथि कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।
धेरैले सार्वजनिक सेवा प्रवाह गर्ने निकायमा यस्तो घटना हुनु दुःखद भएको टिप्पणी गरेका छन्।यता निमित्त कार्यालय प्रमुख चिन्तन आचार्यले भने घटनालाई फरक ढंगले व्याख्या गरेका छन्। उनका अनुसार सेवाग्राही अरुण कुशवाहा कार्यालयमा सेवा लिन आएका थिए। उनले आफू पत्रकार भएको परिचय दिँदै कर्मचारीहरूसँग अभद्र व्यवहार, गालीगलौज तथा दबाब सिर्जना गरेपछि विवाद उत्पन्न भएको दाबी गरेका छन्।आचार्यले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो घटनाको सम्पूर्ण दृश्य नभई केही अंश मात्र काटेर राखिएको दाबी गर्दै वास्तविक अवस्था फरक रहेको बताएका छन्। उनका अनुसार घटनापछि दुवै पक्षबीच आपसी समझदारी र मिलापत्र भइसकेको छ।
घटनाबारे मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालयले पनि जानकारी लिएको जनाएको छ। मन्त्रालयका निमित्त सचिव रञ्जित यादवले सार्वजनिक भएको भिडियोबारे मन्त्रालयमा जानकारी प्राप्त भइसकेको र घटनाको वस्तुगत अध्ययन तथा आवश्यक छलफल गरी थप निर्णय लिइने बताएका छन्।कार्यालय प्रमुख चिन्तन आचार्य अधिकृत छैटौँ तहका कर्मचारी हुन्। उनी यसअघि यातायात व्यवस्था कार्यालय जनकपुरमा कार्यरत रहेपछि हाल बारा कार्यालयमा निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन्।




