रञ्जन यादब /बारा २७ बैशाख
डुमरवानामा आयोजित प्रथम खुला महिला भलिबल प्रतियोगिताको उपाधि बाराको जनशक्ति क्लब कोल्हवीले हात पारेको छ। डुमरवाना विकास मञ्चको आयोजनामा सम्पन्न प्रतियोगिताको भएको फाइनल खेलमा सर्लाहीको लक्ष्मी नाथ क्लब हरिपुरलाई पराजित गर्दै जनशक्ति क्लब विजेता बनेको हो।फाइनल प्रतिस्पर्धा निकै रोमाञ्चक बनेको थियो। पाँच सेटसम्म चलेको खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि निर्णायक क्षणमा जनशक्ति क्लब कोल्हवीले बाजी मार्दै च्याम्पियन बन्न सफल भयो।उपाधिसँगै विजेता टोलीले नगद ३० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ।

उपविजेता लक्ष्मी नाथ क्लब हरिपुर सर्लाहीले नगद १५ हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाएको आयोजकले जनाएको छ।प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि लक्ष्मी नाथ क्लब हरिपुरकी नेहा चौधरीले जितिन्। त्यसैगरी जनशक्ति क्लब कोल्हवीकी कोपिला चौधरी ‘बेस्ट स्पाइकर’ घोषित भइन्।
प्रतियोगिताको समापन समारोह डुमरवाना विकास मञ्चका अध्यक्ष गोविन्द चौधरी को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर भोला अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी थिए भने वडा नम्बर १३ का वडाध्यक्ष हेमनारायण चौधरी विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए।त्यस अवसरमा वडा नम्बर १६ की वडाध्यक्ष चयन माया गुरुङ, समाजसेवी रूपलाल चौधरी तथा पलट चौधरी लगायतको पनि सहभागिता रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले महिला खेलकुदको प्रवद्र्धन र प्रतिभा विकासका लागि यस्ता प्रतियोगिता निरन्तर आयोजना गरिनुपर्ने धारणा व्यक्त गरेका थिए।



