बारा २६ बैशाख /
बाराको परवानीपुरस्थित राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको अनुसन्धान फार्ममा बर्डफ्लु संक्रमण पुष्टि भएपछि ठूलो आर्थिक क्षति पुगेको छ ।
गत चैतको अन्तिम सातादेखि देखिएको संक्रमणका कारण फार्ममा पालिएका विभिन्न प्रजातिका पन्छी तथा तिनका आहार नष्ट गर्नुपर्दा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको कार्यालयले जनाएको छ ।
कार्यक्रमका सूचना अधिकारी खमबहादुर प्रजाका अनुसार संक्रमण नियन्त्रणका लागि करिब दुई हजार कुखुराका चल्ला, गिरीराजसहित करिब १२ सय कुखुरा, ३३ वटा तित्रा, ४७ वटा सेतो तथा कालो टर्की र करिब ४५० वटा बट्टाई नष्ट गरिएको हो । त्यसैगरी संक्रमण फैलिन नदिन प्रयोगका लागि राखिएको दानासमेत नष्ट गरिएको छ ।
कार्यालयका अनुसार एल वान ८३५ किलोग्राम, एल टु ४५५ किलोग्राम र एल थ्रि एक हजार ८३५ किलोग्राम दाना नष्ट गरिएको हो । संक्रमित क्षेत्रलाई सुरक्षित बनाउन फार्ममा अहिले निर्मलीकरणको काम तीव्र पारिएको छ । सूचना अधिकारी प्रजाले चुना छर्किने, मल व्यवस्थापन गर्ने तथा आगोको ताप प्रयोग गरेर सरसफाइ र संक्रमण नियन्त्रणका कार्य भइरहेको जानकारी दिनुभयो ।



