वडालाई थप अधिकार प्रत्यायोजन ः अब सेवा लिन नगर धाउनुपर्ने बाध्यता घट्ने

रञ्जन यादब /बारा २१ बैशाख

जीतपुरसिमरा उपमहानगरपालिकाले सेवा प्रवाहलाई थप नागरिकमैत्री बनाउन वडास्तरमै प्रशासनिक अधिकार विस्तार गरेको छ। प्रमुख प्रशासनिक अधिकृत डमरु प्रसाद निरौलाद्वारा हस्ताक्षरित निर्णयअनुसार सबै वडा कार्यालयलाई सेवा सरल, सहज र प्रभावकारी बनाउन आवश्यक जिम्मेवारी प्रदान गरिएको हो।यस व्यवस्थासँगै अब सामान्य प्रशासनिक कामका लागि नागरिकले उपमहानगरपालिकाको मुख्य कार्यालय, जीतपुरसम्म धाउनुपर्ने बाध्यता कम हुने भएको छ। सेवाग्राहीले आफ्नै नजिकको वडा कार्यालयबाटै अधिकांश सेवा प्राप्त गर्न सक्नेछन्।

निर्णयअनुसार वडा कार्यालयहरूले एक करोड रुपैयाँसम्मका व्यवसाय दर्ता, नवीकरण तथा इजाजतपत्र प्रदान गर्ने अधिकार पाएका छन्। साथै घरधनी र बहालमा बस्ने पक्षबीचको सम्झौता अभिलेख गर्ने, बहाल करको नियमित अनुगमन तथा असुली गर्ने र राजस्व संकलनमा देखिने प्रशासनिक समस्या समाधान तथा समन्वय गर्ने जिम्मेवारी पनि वडालाई दिइएको छ।त्यसैगरी नक्सा पाससम्बन्धी प्राविधिक विवरण र कागजात वडा तहमै सुरक्षित राख्ने तथा नक्सा अभिलेख नवीकरण र स्वीकृतिका लागि आवश्यक प्रारम्भिक प्रक्रिया वडाबाटै अघि बढाइने व्यवस्था गरिएको छ।

व्यक्तिगत घटनाहरू—जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँसराइ—सम्बन्धी दर्ता तथा अभिलेख व्यवस्थापन पनि वडा कार्यालयबाटै हुने भएको छ। यी विवरणहरू अनलाइन प्रणाली र भौतिक दर्ता किताब दुवैमा व्यवस्थित रूपमा राखिनेछन् भने जनसंख्या व्यवस्थापन र सामाजिक सुरक्षासम्बन्धी आवधिक प्रतिवेदन तयार पार्ने जिम्मेवारी समेत वडालाई दिइएको छ।उपमहानगरपालिकाले यस कदमले सेवा प्रवाहलाई छरितो बनाउनुका साथै नागरिकको समय र खर्च बचत हुने विश्वास नगरबासीले ब्यक्त गरेका छन् ।