जितपुरसिमरा उपमहानगरपालिकामा ई बिडिङ मार्फत विकासका काम तीव्र

रञ्जन यादब /बारा

मधेश प्रदेशभरि समिति र कोटेसन प्रक्रियामार्फत माटो पुरी, ग्राभेल र ढलान बाटो निर्माण भइरहेका बेला जीतपुरसिमरा उपमहानगरपालिकाले ई बिडिङ मार्फत विकासका कामलाई तीव्र बनाएको छ ।जितपुरसिमरा उपमहानगरपालिकाले फरक शैली अपनाउँदै ई बिडिङ प्रक्रियाको माध्यमबाट विकासका कामलाई तीव्रता दिएको उपमहानगरपालिकाको ईन्जिनीयर अभयकान्त झाले जानकारी दिए ।

नगर प्रमुख राजन पौडेलको निर्देशनमा ई बिडिङ प्रणालीमार्फत सिँचाइ आयोजना, पिच सडक, र अस्पतालजस्ता महत्वपूर्ण परियोजनाहरू सञ्चालन गर्दै आएको उपमहानगरपालिकाले विकासका कामलाई गुणस्तरीय र पारदर्शी बनाउन यस पद्धतिलाई अपनाएको जनाईएको छ । हालै मात्र वडा नं. ८ मा सञ्चालन भइरहेको सिँचाइ आयोजनामा करिब ८५% काम सम्पन्न भइसकेको छ ।

यस आयोजनाले स्थानीय किसानलाई सिँचाइको सहज पहुँच प्रदान गर्ने र कृषि उत्पादनमा वृद्धि गर्ने अपेक्षा गरिएको छ । उपमहानगरपालिकाले ई बिडिङ प्रक्रिया मार्फत ठूला परियोजनाहरूको प्रभावकारी व्यवस्थापन गर्दै आएको जनाउँदै, आगामी दिनमा पनि यस पद्धतिलाई निरन्तरता दिने नगर प्रमुख पौडेलले बताएका छन् ।यसले पारदर्शीता र गुणस्तर सुनिश्चित गर्दै विकास निर्माणमा उदाहरणीय कदमको स्थापना गरेको नगरबासीले बताएका छन् ।