रञ्जन यादब /बारा
आठौं लोटस आधारभूत अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि लोटस एकाडेमी सिमराले जितेको छ । बिहिबार लोटस एकाडेमीको खेलमैदानमा सम्पन्न फाइनल खेलमा होली गार्डेन पथलैयालाई १–० ले पराजित गर्दै लोटसले उपाधि हात पारेको हो ।
फाइनल खेल अत्यन्त रोमाञ्चक र प्रतिस्पर्धात्मक रहेको थियो। खेलको निर्णायक गोल लोटसका खेलाडी गौरव थारुले मध्यान्तरपछि इन्जुरी समयमा गरेका थिए ।खेलपछि आयोजित समापन समारोहमा जितपुरसिमरा उपमहानगरपालिकाका युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख हरिस प्रसाद भट्टले विजेता लोटस एकाडेमीका खेलाडीलाई ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरे।
उपविजेता होली गार्डेनका खेलाडीलाई लोटस एकाडेमीका प्रिन्सिपल रामप्रसाद अधिकारीले पुरस्कार प्रदान गरे ।प्रतियोगितामा विभिन्न व्यक्तिगत विधामा पनि उत्कृष्ट खेलाडीहरूलाई सम्मान गरिएको थियो। प्ले अफ द म्याच लोटसका गौरव थारु, हाइस्कोरर होली गार्डेनका नमन गुरुङ, उत्कृष्ट गोलकिपर लोटसका सिद्धार्थ मिश्र, र प्लेयर अफ द टुर्नामेन्ट लोटसका समर थापा घोषित भए ।
समारोहमा लोटसका सहायक प्रिन्सिपल चन्द्रबहादुर लिम्बु, होली गार्डेनका प्रिन्सिपल भुवन राई, र पत्रकार विदुर खड्काले उत्कृष्ट खेलाडीहरूलाई ट्रफी प्रदान गरे। प्रमुख अतिथि हरिष प्रसाद भट्टलाई लोटसका प्रिन्सिपल रामप्रसाद अधिकारीले मायाको चिनो प्रदान गरे। साथै, रेफ्री लखन चौधरी र द्वारिका श्रेष्ठलाई सहायक प्रिन्सिपल चन्द्रबहादुर लिम्बुले मायाको चिनो प्रदान गरे।
समापन समारोहमा सिमरा पब्लिकका प्रिन्सिपल बसन्त ढकाल, अक्षरा पाठशालाका प्रिन्सिपल नरेन्द्र तामाङ, राष्ट्रिय विभूतिका प्रिन्सिपल सागर ठाडा मगर, पाथिभरा स्कुलका प्रिन्सिपल लक्की रिमाल, र लगायतको उपस्थिति रहेको थियो ।माघ ६ गतेदेखि १० गतेसम्म सञ्चालन भएको प्रतियोगिताको समापन समारोहको सञ्चालन लोटसका शिक्षक रामप्रसाद पोखरेलले गरेका थिए।