जीतपुरसिमरा उपमहानगरमा पाँचौं डुमरवाना क्रिकेट च्याम्पियनसिप हुने

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १५ मा पाँचौं डुमरवाना क्रिकेट च्याम्पियनसिप माघ २६ गतेदेखि सुरु हुने भएको छ । प्रगतिशिल युवा क्लब को आयोजनामा हुने प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ ।आयोजक क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो।

प्रतियोगितामा ६ टिमले सहभागिता जनाउनेछन्, जसमा मकवानपुर जिल्ला क्रिकेट संघ, पर्सा जिल्ला क्रिकेट संघ, रौतहट क्रिकेट क्लब गरुना, कलैया क्रिकेट क्लब, ईस्टर्न क्रिकेट क्लब चितवन, र आयोजक प्रगतिशिल युवा क्लब समावेश छन।आयोजकका सचिव बासु नेपालका अनुसार, प्रतियोगिता लिग फर्मेट मा हुनेछ, जहाँ प्रत्येक टिमले दुई खेल खेल्नेछ।

विजेता टिमलाई १ लाख रुपैयाँ र उपविजेतालाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ। साथै, म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेस्ट बलर, र बेस्ट ब्याट्सम्यान जस्ता विधागत पुरस्कारको पनि व्यवस्था गरिएको छ। करिब १० लाख रुपैयाँ लागत मा आयोजना हुन लागेको प्रतियोगितालाई बारा जिल्ला क्रिकेट संघ र मधेश प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग पु¥याउनेछन्।पत्रकार सम्मेलनमा वडा नं. १५ का अध्यक्ष रामप्रसाद लामिछानेले प्रतियोगितामा वडा स्तरबाट सहयोग रहने प्रतिवद्धता जनाउँदै, खेलकुदले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने कुरा व्यक्त गर्नुभयो।

कार्यक्रममा पुर्व वडा सदस्य राजन भट्टराई, नेकपा एमालेका नेता राजकुमार अर्याल, माओवादी नेता हरिकृष्ण के.सी., र क्रिकेटप्रेमी पंकज शर्मालगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा क्लबका पूर्व अध्यक्ष कृष्ण नेपालले स्वागत मन्तव्य राख्नुभएको थियो भने क्लबका अध्यक्ष प्रदीप पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव बासु नेपालले गर्नुभएको थियो।