चितवन,माघ १५-
निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गरेका छन् । लामिछाने आज नागरिकता पुन: प्राप्तिको प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं गएका थिए । सर्वोच्च अदालतले शुक्रबार रविले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गरेको थियो । सर्वोच्च अदालतले नागरिकतामा दोषी ठहर गरेपछि रविले मन्त्री र सांसद पद गुमाएका छन् ।
लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेको र त्यसको निस्सा पाइसकेकाले उक्त निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएर प्रक्रिया पूरा गरी नयाँ नागरिकता पाएका छन् । अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रूपमा गरेका सबै कार्य अवैध हुने सर्वोच्चको संवैधानिक इजलासले फैसला गरेको थियो ।
लामिछाने प्रतिनिधिसभाको उम्मेदवार हुन अयोग्य रहेको भनेर निर्वाचन आयोगमा समेत उजुरी परेकोमा आयोगले कुनै निर्णय गरेको थिएन । चितवन-२ बाट रविले दोब्बर मतान्तरमा चुनाव जितेका थिए ।