सिमरामा मिथिलाञ्चल संस्कृतिअनुसार दुर्गा पूजाका लागि माटो ल्याइयो

रञ्जन यादव /बारा०७ असोज

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२, सिमरास्थित आदर्श टोलमा आयोजना हुने दुर्गा पूजाका लागि मिथिलाञ्चल संस्कृतिअनुसार विधिपूर्वक मंगलबार माटो ल्याइएको छ। दुर्गा पूजाका अवसरमा निर्माण गरिने नव भवानीको प्रतिमा निर्माणका लागि स्थानीय परम्परा र धार्मिक विधिअनुसार पूजाअर्चना गर्दै माटो ल्याइएको आयोजक श्री शिद्धिदात्री दुर्गा पुजा समितीका अध्यक्ष राजकुमार सिँहले जानकारी दिनुभयो ।

माटो ल्याउने क्रममा स्थानीय श्रद्धालु तथा पूजा समितिका पदाधिकारीको सहभागिता रहेको थियो। मिथिलाञ्चल क्षेत्रमा देवीदेवताका प्रतिमा निर्माणका लागि माटो संकलन गर्ने परम्परालाई धार्मिक तथा सांस्कृतिक महत्वका रूपमा लिने गरिन्छ। ५ बर्ष देखि हुँदै आएको पुजालाई सोही परम्परालाई निरन्तरता दिँदै आदर्श टोलमा यस वर्ष पनि दुर्गा पूजाको तयारी सुरु गरिएको पूजा आयोजकले जनाएको छ।

माटो ल्याएसँगै नव भवानीको प्रतिमा निर्माणको काम सुरु हुने बताइएको छ। पूजाका लागि आवश्यक तयारी, मण्डप निर्माण, सजावट तथा अन्य व्यवस्थापनका कामसमेत अघि बढाइएको श्री शिद्धिदात्री दुर्गा पुजा समितीका सचिव संजिब कुमार झाले जानकारी दिनुभयो ।आदर्श टोलमा प्रत्येक वर्ष आयोजना हुँदै आएको दुर्गा पूजामा सिमरा तथा आसपासका क्षेत्रबाट ठूलो संख्यामा श्रद्धालु सहभागी हुने गरेका छन्।

धार्मिक आस्थासँगै मिथिलाञ्चलको कला, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले समेत पूजालाई निरन्तरता दिइएको समितीका संस्थापक सदस्य डा. राहुल झाले जानकारी दिनुभयो ।