सिमरामा असोज १० देखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता

रञ्जन यादब /बारा ०३ असोज

सिमरा भेट्रान क्लबको आयोजनामा असोज १० देखि १७ गतेसम्म सिमरा रंगशालामा ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।रात्री समयमा हुने प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोली सहभागी हुनेछन्। प्रतियोगितामा एपीएफ, आर्मी, पुलिस, फेयर फुटबल धरान, बसन्तपुर युनाइटेड चितवन, भारतका कुर्सेङ गोल्स र झारखण्ड स्टेट स्पोर्टस् प्रमोशन सोसाइटी तथा आयोजक सिमरा भेट्रान क्लब सहभागी हुनेछन्।


प्रतियोगिताको विजेताले ५ लाख ११ हजार १ सय ११ र उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीलाई १ लाख तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ पुरस्कार दिइने प्रतियोगिताको संयोजक हरि चौधरीले जानकारी दिनुभयो ।
प्रतियोगिताको मुख्य सहयोगी जीतपुरसिमरा उपमहानगरपालिका र मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक्स रहेका छन्। टिकटबाट संकलित रकमको १० प्रतिशत रसुवा बाढी प्रभावितको पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने आयोजकले जनाएको छ।