रञ्जन यादव /बारा, ३१ भाद्र
पढाइसँगै व्यवहारिक सीप र आयआर्जनको अवसर उपलब्ध गराउने उद्देश्यले बाराको विश्रामपुर गाउँपालिका–१ छतवा रामटोलका छात्रालाई हाँसका चल्ला वितरण गरिएको छ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड, माईस्थान शाखाले सञ्चालन गरेको ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत कक्षा ६ देखि १२ सम्म अध्ययनरत २५ जना छात्रालाई हाँसका चल्ला प्रदान गरिएको हो।
बुधवार आयोजित कार्यक्रममा प्रत्येक छात्रालाई १० वटाका दरले कुल २ सय ५० वटा हाँसका चल्ला वितरण गरिएको संस्थाका कर्मचारी कृष्णा यादवले जानकारी दिनुभयो।
कार्यक्रमको उद्देश्य विद्यार्थीलाई औपचारिक शिक्षामा मात्र सीमित नराखी सानै उमेरदेखि पशुपन्छी पालन तथा आयआर्जनका व्यवहारिक सीप सिकाउनु रहेको माईस्थान शाखा प्रमुख श्यामकुमार रमौलीले बताउनुभयो।
उहाँका अनुसार हाँस पालनबाट विद्यार्थीले व्यावसायिक सीप हासिल गर्नुका साथै त्यसबाट प्राप्त आम्दानीलाई आफ्नो पढाइ तथा दैनिक आवश्यकतामा उपयोग गर्न सक्छन्। अहिले सिकेको सीपलाई भविष्यमा व्यवसायका रूपमा विस्तार गर्ने आधारसमेत बन्न सक्ने उहाँको भनाइ छ।
रमौलीले आवश्यकता र स्थानीय सम्भावनाका आधारमा आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
हाँसका चल्ला पाएपछि छात्राहरूले पनि खुसी व्यक्त गरेका छन्। पढाइसँगै आयआर्जन गर्ने अवसर प्राप्त भएकाले आफूहरू उत्साहित भएको उनीहरूले बताएका छन्। हाँसको उचित हेरचाह गरी त्यसबाट प्राप्त हुने आम्दानीलाई अध्ययन तथा आवश्यकतामा खर्च गर्ने छात्राहरूको भनाइ छ।
विद्यालय तथा स्थानीय प्रतिनिधिहरूले ग्रामीण क्षेत्रका छात्रालाई शिक्षा, सीप र आयआर्जनसँग जोड्ने यस्ता कार्यक्रमले उनीहरूमा आत्मनिर्भर बन्ने भावना विकास गर्न सहयोग पुग्ने बताएका छन्।




