जीतपुरसिमरा उपमहानगरपालिकाले तीन वटा वडामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको विवरणलाई औपचारिक रूपमा स्वीकृति दिएको छ ।
शुक्रबार सम्पन्न उपमहानगरपालिकाको ७०औँ कार्यपालिका बैठकले वडा नम्बर १, २ र २१ का गरी १ हजार ६ सय ४९ परिवारको पहिचान तथा प्रमाणीकरण स्वीकृत गरेको हो ।
स्वीकृत विवरणअनुसार २४ जना भूमिहीन दलित, २४८ जना भूमिहीन सुकुम्बासी र १ हजार ३ सय ७८ जना अव्यवस्थित बसोबासी रहेका छन् । उनीहरूको विवरण ‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको आधार र मापदण्ड, २०८३’ अनुसार तयार पारिएको उपमहानगरपालिकाले जनाएको छ ।
वडा नम्बर १ मा ६ भूमिहीन दलित र ११६ भूमिहीन सुकुम्बासी गरी १२२ जनाको विवरण स्वीकृत भएको छ । यस्तै, वडा नम्बर २ मा १७ भूमिहीन दलित, १०६ भूमिहीन सुकुम्बासी र ७७० अव्यवस्थित बसोबासी गरी ८९३ जनाको विवरण प्रमाणीकरण गरिएको छ ।

त्यसैगरी वडा नम्बर २१ मा १ भूमिहीन दलित, २६ भूमिहीन सुकुम्बासी र ६०८ अव्यवस्थित बसोबासी गरी ६३५ जनाको विवरण स्वीकृत गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
कार्यपालिका बैठकबाट स्वीकृत विवरण अब आवश्यक प्रक्रिया पूरा गरी भूमि समस्या समाधान समिति, बारा समक्ष पेश गरिने भएको छ । यससँगै सम्बन्धित परिवारलाई जग्गा व्यवस्थापन गर्ने प्रक्रियाले थप गति लिने अपेक्षा गरिएको छ ।




