जीतपुरमा २८० किलोको विशाल लड्डुसहित गणेश चतुर्थी महोत्सव भाद्र २९ गते देखि हुँदै

रञ्जन यादव /बारा २७ भाद्र

बाराको जीतपुरमा यस वर्ष गणेश चतुर्थी भाद्र २९ गते देखि सुरु हुने भएको छ। २ सय ८० किलो तौलको विशाल लड्डु आकर्षणको केन्द्र बन्ने गरी सप्ताहव्यापी गणेश चतुर्थी पूजा तथा महोत्सव आयोजना गर्न लागिएको श्री सिद्धि विनायक पूजा समितिले जनाएको छ । समितीले जीतपुर स्थित पुजा हुने स्थलमा पत्रकार सम्मेलेनको आयोजना गरी पाँच दिनसम्म चल्दै आएको पुजा यस बर्ष तिथि र समयलाई मध्यनजर गरि साँत दिनसम्म चल्ने जानकारी दिएको हो ।

आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरस्थित गा.बि.स. कार्यालय अगाडिको फिल्डमा भाद्र २९ गतेदेखि महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ। महोत्सवबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले यस वर्षको कार्यक्रमलाई विगतभन्दा थप आकर्षक र भव्य बनाउने तयारी गरिएको जनाएको हो।महोत्सवको पहिलो दिन सोमबार भव्य शोभायात्रासहित गणेश भगवानको पूजा तथा सप्ताहव्यापी कार्यक्रमको औपचारिक शुभारम्भ गरिने मूल आयोजक समितिका अध्यक्ष श्रीराम साह कानुले जानकारी दिनुभयो। शोभायात्रामा धार्मिक झाँकीसँगै हात्ती र घोडासमेत सहभागी हुनेछन्।समितिका उपाध्यक्ष जयसागरका अनुसार यस वर्षको शोभायात्रामा एउटा हात्ती र पाँच वटा घोडा सहभागी गराइनेछ। शोभायात्रामा ठूलो संख्यामा भक्तजन तथा दर्शनार्थीको सहभागिता रहने अपेक्षा गरिएको छ।

यस वर्ष महोत्सवको प्रमुख आकर्षणका रूपमा एउटै २ सय ८० किलोको विशाल लड्डु तयार पारिने भएको छ। गत वर्ष २ सय ७० किलोको लड्डु तयार पारिएकोमा यस पटक थप १० किलो बढाएर २ सय ८० किलोको लड्डु बनाउन लागिएको आयोजकले जनाएको छ।पूजा तथा आरती सम्पन्न भएपछि महोत्सव अवधिभर दैनिक ५० किलो लड्डु भक्तजन तथा दर्शनार्थीलाई प्रसादका रूपमा वितरण गरिने अध्यक्ष कानुले बताउनुभयो।

धार्मिक कार्यक्रमसँगै महोत्सवमा हरेक दिन भजन–कीर्तन सञ्चालन गरिनेछ भने साँझ तथा रातिको समयमा विभिन्न धार्मिक तथा सांस्कृतिक झाँकी प्रस्तुत गरिने समितीका सचिव अशोक दासले जानकारी दिए। सर्वसाधारण तथा बालबालिकाको मनोरञ्जनका लागि रोटे पिङ, सर्कसलगायतका मनोरञ्जनात्मक सामग्रीसमेत राखिनेछ।सप्ताहव्यापी महोत्सव सम्पन्न गर्न करिब ७ लाख ५० हजार रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको समितीका कोषाध्यक्ष शनि जैसवालले बताए।

जीतपुरमा विगत १९ वर्षदेखि गणेश चतुर्थीको अवसरमा गणेश भगवानको पूजा तथा महोत्सव आयोजना हुँदै आएको श्री सिद्धि विनायक पूजा समितिले जनाएको छ। धार्मिक आस्था, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले यस वर्ष पनि महोत्सवलाई थप व्यवस्थित र आकर्षक बनाउने तयारी गरिएको आयोजकको भनाइ छ।महोत्सव अवधिभर पूजा स्थलमा भक्तजनको सहजताका लागि आवश्यक व्यवस्थापन, प्रसाद वितरण तथा विभिन्न धार्मिक र मनोरञ्जनात्मक कार्यक्रमको तयारी गरिएको समितिले जनाएको छ।