जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा शिक्षा सुधारमा कडाइ ः विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक छनोट प्रक्रिया तत्काल अघि बढाउन पत्र

रञ्जन यादब /बारा २२ साउन

जीतपुरसिमरा उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूको शैक्षिक तथा प्रशासनिक व्यवस्थापनलाई व्यवस्थित बनाउन दुई महत्त्वपूर्ण निर्देशन जारी गरेको छ ।

उपमहानगरपालिकाले विद्यालय व्यवस्थापन समिति गठन र स्थायी प्रधानाध्यापक छनोटको प्रक्रिया यथाशीघ्र अघि बढाउन सबै सामुदायिक विद्यालयहरूलाई पत्राचार गरेको हो। नगर कार्यपालिकाको कार्यालयले जारी गरेको पहिलो पत्र (मिति २०८३ साउन २० गते ) अनुसार, हालसम्म विद्यालय व्यवस्थापन समिति गठन नगरेका सामुदायिक विद्यालयहरूले पालिकाको शिक्षा ऐन, २०७५ (पहिलो संशोधन, २०८३ सहित) र शिक्षा नियमावली, २०५९ (दशौँ संशोधन सहित) को व्यवस्था अनुसार समिति गठन गरी आउँदो भदौ १० गतेभित्र कार्यालयलाई जानकारी गराउनुपर्नेछ।

तोकिएको समयभित्र समिति गठन नगर्ने विद्यालयहरूको हकमा विनियोजित बजेट तथा सेवा–सुविधाको निकासा रोक्का गरिने चेतावनी समेत दिइएको छ। त्यसैगरी, उपमहानगरपालिकाले साउन २२ गते अर्को पत्र जारी गर्दै निमित्त प्रधानाध्यापकको भरमा सञ्चालन भइरहेका विद्यालयहरूमा स्थायी प्रधानाध्यापक पदपूर्ति (छनोट) को प्रक्रिया थाल्न निर्देशन दिएको छ। शिक्षा नियमावली, २०५९ को नियम ९३ बमोजिम सम्पूर्ण सामुदायिक विद्यालयहरूलाई प्रधानाध्यापक छनोटका लागि आवश्यक प्रक्रिया यथाशीघ्र अगाडि बढाउन भनिएको छ। उपसचिव (दसौँ तह) शिवजी प्रसादद्वारा हस्ताक्षरित दुवै पत्रको बोधार्थ जीतपुरसिमरा उपमहानगरपालिकाका २४ वटै वडा कार्यालय, सूचना तथा प्रविधि शाखा (वेबसाइटमा अपलोडका लागि) र सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई (प्रक्रिया अगाडि बढाउनका लागि) दिइएको छ।