रञ्जन यादब /बारा २३ साउन
डिभिजन वन कार्यालय बाराले आर्थिक वर्ष २०८१÷८२ मा उत्पादन गरेका विभिन्न प्रजातिका ५ हजार बिरुवा छिमेकी जिल्ला रौतहट र पर्सामा निःशुल्क पठाएको छ। सडक किनार, सार्वजनिक तथा निजी जग्गामा वृक्षारोपण गर्ने उद्देश्यले ती बिरुवा उपलब्ध गराइएको हो। डिभिजन वन कार्यालय बाराका अनुसार रौतहटको परोहा नगरपालिकाका लागि २ हजार र पर्साको जगरनाथपुर गाउँपालिकाका लागि ३ हजार बिरुवा पठाइएको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत सुजित कुमार झाले जानकारी दिए ।

सम्बन्धित स्थानीय तहको मागका आधारमा बिरुवा उपलब्ध गराइएको कार्यालयले जनाएको छ।परोहा नगरपालिकाले सडक किनार तथा सार्वजनिक र निजी जग्गामा वृक्षारोपण गर्ने प्रयोजनका लागि बिरुवा माग गरेको थियो। त्यस्तै, जगरनाथपुर गाउँपालिकाले पनि आफ्नो क्षेत्रका सडक किनार, सार्वजनिक तथा निजी जग्गामा हरियाली प्रवद्र्धन गर्न बिरुवाको माग गरेको थियो।बारामा उत्पादन हुने वन प्रजातिका बिरुवाको माग छिमेकी जिल्लाबाट नियमित रूपमा आउने गरेको डिभिजन वन कार्यालयले जनाएको छ।

विशेषगरी बारासँग भौगोलिक रूपमा जोडिएका रौतहटको दक्षिणी भेग तथा पर्साको उत्तरी क्षेत्रमा बाराको वन कार्यालयबाट उत्पादन हुने बिरुवाको माग बढी हुने गरेको छ।वन कार्यालयका अनुसार भौगोलिक तथा हावापानीको समानताका कारण बारामा उत्पादन गरिएका विभिन्न वन प्रजातिका बिरुवा छिमेकी जिल्लाका दक्षिणी तथा उत्तरी भेगमा वृक्षारोपणका लागि उपयुक्त हुने गरेका छन्। त्यसैले स्थानीय तह, सार्वजनिक निकाय तथा अन्य सरोकारवाला संस्थाले बाराको नर्सरीबाट बिरुवा माग गर्ने गरेका हुन्।वृक्षारोपणका लागि बिरुवा निःशुल्क उपलब्ध गराउँदा स्थानीय तह तथा समुदायलाई हरियाली विस्तार गर्न सहयोग पुग्नुका साथै सार्वजनिक र निजी जग्गाको संरक्षणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
सडक किनारमा वृक्षारोपण विस्तार हुँदा वातावरणीय संरक्षण, सौन्दर्यीकरण र स्थानीय स्तरमा हरित क्षेत्र विस्तारमा समेत सकारात्मक प्रभाव पर्ने देखिन्छ।डिभिजन वन कार्यालय बाराले आफ्नो नर्सरीमा उत्पादन भएका बिरुवा जिल्लाभित्र मात्र नभई मागका आधारमा छिमेकी जिल्लामा समेत उपलब्ध गराउँदै आएको छ। यसले वन तथा वातावरण संरक्षणका लागि स्थानीय तहबीच सहकार्य र बिरुवा आदानप्रदानको अभ्यासलाई समेत बलियो बनाउने देखिएको छ।




