उमेर नपुगेका बालबालिकालाई मदिरा तथा नशालु पदार्थ बिक्री नगर्न उद्योग वाणिज्य संघको अनुरोध

रञ्जन यादव /बारा २१ साउन

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई मदिरा, सुर्तीजन्य पदार्थ, लागुऔषध तथा अन्य नशालु पदार्थ बिक्री–वितरण नगर्न स्थानीय व्यवसायीहरूलाई अनुरोध गरेको छ । केही होटल, रेस्टुरेन्ट, बार तथा अन्य व्यावसायिक प्रतिष्ठानबाट उमेर नपुगेका बालबालिकालाई यस्ता पदार्थ बिक्री भइरहेको गुनासो आएपछि संघले सूचना जारी गर्दै व्यवसायीहरूलाई सचेत गराएको हो।

संघका महासचिव प्रकाश गिरिद्वारा जारी सूचनामा प्रचलित कानुनअनुसार उमेर नपुगेका व्यक्तिलाई मदिरा वा अन्य नशालु पदार्थ बिक्री गर्नु गैरकानुनी कार्य भएको उल्लेख गरिएको छ। यस्ता गतिविधिले चोरी, लुटपाट, झैझगडा, सार्वजनिक शान्ति भंग, यौन दुव्र्यवहार तथा घरेलु हिंसाजस्ता आपराधिक घटना बढ्न सक्ने भन्दै संघले सबै व्यवसायीलाई जिम्मेवार बन्न आग्रह गरेको छ। सूचनामार्फत संघले १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई कुनै पनि प्रकारको मदिरा, लागुऔषध, नशालु पदार्थ वा कानुनले निषेध गरेका वस्तु बिक्री नगर्न निर्देशन दिएको छ। मदिरा बिक्री गर्नुअघि ग्राहकको उमेरबारे शंका लागेमा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी वा अन्य आधिकारिक परिचयपत्र हेरेर मात्र बिक्री गर्नुपर्ने व्यवस्था अपनाउन पनि आग्रह गरिएको छ।

त्यसैगरी, व्यवसायीहरूले आफ्नो प्रतिष्ठानमा नेपाल सरकारको प्रचलित कानुन तथा नियमहरूको पूर्ण पालना गर्नुपर्ने संघले जनाएको छ। सूचनाको उल्लंघन गर्ने व्यवसायीको विवरण सम्बन्धित सरकारी निकायमा पठाई प्रचलित कानुनबमोजिम कारबाही, जरिवाना, इजाजतपत्र (लाइसेन्स) सम्बन्धी कारबाही तथा अन्य कानुनी प्रक्रिया अघि बढाउन सिफारिस गरिने चेतावनी पनि दिइएको छ।हाल सम्बन्धित सरकारी निकायहरूले कानुन उल्लंघन गर्ने व्यवसाय तथा व्यक्तिमाथि नियमित अनुगमन, कारबाही र जरिवानाको प्रक्रिया कडा बनाइरहेको उल्लेख गर्दै जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले सुरक्षित, सभ्य र जिम्मेवार व्यावसायिक वातावरण निर्माणमा सबै व्यवसायीको सक्रिय सहयोग रहने विश्वास व्यक्त गरेको छ।