रञ्जन यादब /बारा १६ साउन
बाराको कलैया उपमहानगरपालिका–१० स्थित मटिअर्वा नाकामा रहेको सशस्त्र प्रहरी बल (प्रस्तावित) सीमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेन्द्र थापाको नाम जोड्दै तस्करीको लाइन खोल्नका लागि एक लाख रुपैयाँ लिएको आरोपसहितको भिडियो सार्वजनिक भएको छ। भिडियो सार्वजनिक भएपछि घटनाबारे सशस्त्र प्रहरीले आन्तरिक छानबिन सुरु गरेको जनाएको छ।सार्वजनिक भिडियोमा गुल्म मातहतको नीलकण्ठवा सीमा क्षेत्रमा रहेको सशस्त्र प्रहरी बलको अस्थायी बोर्डर आउट पोष्टका इन्चार्ज सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) केशव रानासँग एक व्यक्तिले विवाद गरिरहेको देखिन्छ।
भिडियोमा ती व्यक्तिले तस्करी गर्न सहज बनाइदिने आश्वासनमा डीएसपीलाई दिन भन्दै एक लाख रुपैयाँ दिएको तर काम नभएको आरोप लगाउँदै रकम फिर्ता नगरे असई रानालाई बाँधेर लैजाने धम्की दिएको सुनिन्छ। भिडियोमा ती व्यक्तिले आफूले ब्याजमा पैसा खोजेर रकम दिएको, पटक–पटक आज हुन्छ, भोलि हुन्छ भन्दै झुक्याइएको तथा आफूलाई काम गर्न दिन वा रकम फिर्ता गरिदिन माग गरेका छन्। उनले आफूले आवश्यक सामानसमेत उपलब्ध गराएको दाबी गर्दै आक्रोश व्यक्त गरेका छन्। जवाफमा असई रानाले मोबाइलबाट तत्कालीन गृहमन्त्रीले सीमा नाकामा तस्करी नियन्त्रणका लागि सुरक्षाकर्मीलाई दिएको निर्देशनको अडियो सुनाउँदै अहिले अवस्था पहिलेभन्दा फरक रहेको बताएका छन्। त्यसपछि ती व्यक्तिले पहिले प्रतिटिप दुई हजार रुपैयाँ लाग्ने गरेकोमा अहिले चार हजार रुपैयाँ दिनुपर्ने अवस्था आएको तथा अघिल्लो रात अन्य व्यक्तिहरूले आठ वटा मोटरसाइकलमार्फत सामान सीमा पार गराएको दाबी गरेका छन्। भिडियोमा असई रानाले ती व्यक्तिलाई शान्त हुन आग्रह गर्दै आफूले सकेसम्म सहयोग गरेको तर अहिले नयाँ नेतृत्व आएकाले परिस्थिति बदलिएको बताएका सुनिन्छ।
यस विषयमा प्रतिक्रिया दिँदै असई केशव रानाले भिडियो वास्तविक भएको स्वीकार गरे पनि भिडियोमा लगाइएका पैसा लेनदेनका आरोप अस्वीकार गरेका छन्। टेलिफोन संवादमा उनले घटना पाँच–सात दिनअघिको भएको, भिडियोमा देखिएका व्यक्तिले आक्रोशमा आएर आधारहीन आरोप लगाएको तथा पछि आफूकहाँ आएर गल्ती स्वीकार्दै माफीसमेत मागेको दाबी गरे। उता डीएसपी दिपेन्द्र थापाले पनि आफूमाथि लगाइएको एक लाख रुपैयाँ लिएको आरोप निराधार रहेको बताएका छन्। उनले आफू हालै मात्रै उक्त क्षेत्रमा सरुवा भएर आएको र आएदेखि नै सीमा क्षेत्रमा कडाइ गरेको दाबी गर्दै भिडियोमा देखिएका असई रानालाई कार्यालयमा बोलाएर शनिबारदेखि नै छानबिन सुरु गरिएको जानकारी दिए।डीएसपी थापाले घटनाबारे वरिष्ठ अधिकारीलाई जानकारी गराइसकेको उल्लेख गर्दै भिडियोमा उठाइएका आरोप सत्य प्रमाणित भए सम्बन्धित व्यक्तिमाथि कानुनी तथा विभागीय कारबाही हुने बताए।घटनाबारे सशस्त्र प्रहरीको औपचारिक छानबिन जारी रहेको छ भने भिडियोमा भएका आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ।




