संस्थागत विद्यालयमा पढाउने सामुदायिक विद्यालयका शिक्षकलाई स्वीकृति लिन जीतपुरसिमरा उपमहानगरको निर्देशन

रञ्जन यादब /बारा १७ साउन

जीतपुरसिमरा उपमहानगरपालिकाले सामुदायिक (सरकारी) विद्यालयमा कार्यरत शिक्षकहरूले निजी तथा संस्थागत विद्यालयमा समेत अध्यापन गरिरहेको पाइएपछि नियमअनुसार पूर्व स्वीकृति लिन निर्देशन दिएको छ ।उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सूचना जारी गर्दै सामुदायिक विद्यालयका शिक्षकहरूले आफू कार्यरत विद्यालयबाहेक अन्यत्र अध्यापन गर्नुअघि सम्बन्धित निकायबाट अनिवार्य रूपमा पूर्व स्वीकृति लिनुपर्ने जनाएको हो।

शाखा प्रमुख हरिश प्रसाद भट्टद्वारा जारी सूचनामा शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को परिच्छेद–२२, नियम १३३ को उपनियम (१) को खण्ड (ज) अनुसार शिक्षकले आफू बहाल रहेको विद्यालयबाहेक अन्यत्र काम गर्न पूर्व स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ। उपमहानगरपालिकाले निजी तथा संस्थागत विद्यालयमा अध्यापन गरिरहेका सामुदायिक विद्यालयका शिक्षकहरूलाई नियमबमोजिम स्वीकृति प्राप्त गरी त्यसको जानकारी साउन २५ गतेभित्र शिक्षा, युवा तथा खेलकुद शाखामा पेश गर्न निर्देशन दिएको छ।

निर्धारित समयभित्र स्वीकृति नलिई वा जानकारी नगराई नियमविपरीत निजी विद्यालयमा अध्यापन गरेको पाइएमा शिक्षा नियमावली, २०५९ (संशोधन सहित) बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत उपमहानगरपालिकाले दिएको छ।उपमहानगरपालिकाले यस कदमबाट शिक्षा क्षेत्रमा कानुनी व्यवस्था कार्यान्वयन, शिक्षकको जिम्मेवारी सुनिश्चित तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्ने अपेक्षा गरेको जनाएको छ।