अखिल नेपाल औद्योगिक मजदुर संघ बारा र पर्साको संयुक्त जिल्ला भेला सम्पन्न

रञ्जन यादब /बारा १६ साउन

अखिल नेपाल औद्योगिक मजदुर संघ बारा र पर्साको संयुक्त जिल्ला भेला सम्पन्न भएको छ। शुक्रबार सिमरास्थित थानिमाई पार्कको सभाहलमा सम्पन्न भेलाले दुवै जिल्लाका नयाँ जिल्ला समिति चयन गर्नुका साथै औद्योगिक श्रमिकका समस्या समाधानका विषयमा विभिन्न निर्णय गरेको हो।भेलाबाट बारा जिल्ला समितिको अध्यक्षमा डी.बी. थापा, उपाध्यक्षमा देवेन्द्र सिटौला, सचिवमा दीपक कार्की, सहसचिवमा लक्ष्मी चौधरी र नुछेराज मण्डल, कोषाध्यक्षमा सोमिता श्रेष्ठ तथा सहकोषाध्यक्षमा लक्ष्मण सुवेदी चयन भएका छन्। उनीहरूसहित १७ सदस्यीय जिल्ला समिति गठन गरिएको जनाइएको छ।त्यसैगरी पर्सा जिल्ला समितिको अध्यक्षमा विध्यानन्द कुशवाहा, उपाध्यक्षमा संजय साह, सचिवमा प्रदीप चौहान, सहसचिवमा अन्जद मियाँ तथा कोषाध्यक्षमा राजदेब दास चयन भएका छन्। उनीहरूसहित ११ सदस्यीय जिल्ला समिति गठन गरिएको छ।

भेलामा बारास्थित नारायणी स्पात, रारा चप्पल उद्योग तथा पर्सास्थित प्रोवायोटेकलगायत उद्योगमा देखिएका श्रमिक समस्याको समाधानका लागि संघर्षका कार्यक्रम अघि बढाउने, आवश्यक कानुनी उपाय अवलम्बन गर्ने तथा नवगठित समितिका पदाधिकारी र सदस्यहरूको कार्यविभाजन गर्ने निर्णयसमेत गरिएको बताइएको छ।कार्यक्रममा अर्जुन चिमोरिया, बेनी तिमल्सिना, अक्षयकुमार ओझा, गजाधर पटेल, लालबहादुर पटेल, टुनटुन तिवारी, कृष्णप्रसाद पुडासैनी र रूपनारायण सिंह अतिथिका रूपमा सहभागी भएका थिए।भेलाको अध्यक्षता नवनिर्वाचित अध्यक्ष डी.बी. थापाले गरेका थिए। कार्यक्रमको सञ्चालन दीपक कार्कीले गरेका थिए भने स्वागत मन्तव्य धर्मेन्द्र ठाकुरले व्यक्त गरेका थिए।